कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा उहाँले गर्नुहुने दैनिक प्रशासनिक कामकाज उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्नेगरी तोक्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभियामा यही असार १६ देखि १९ गतेसम्म आयोजना हुने राष्ट्रसङ्घीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ भाग लिन शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्नुभएकाले प्रधानमन्त्रीको अनुपस्थितिमा उहाँले सम्पादन गर्ने दैनिक प्रशासनिक कार्यभार उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्नेगरी तोक्नुभएको हो ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीको अनुपस्थितिमा उहाँले गर्नुहुने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री सिंहले सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री ओली यही असार २० गते शुक्रबार अपराह्न स्वदेश फर्कने कार्यतालिका छ ।

सम्बन्धित समाचार