

मदन आश्रित स्मृति दिवसको अवसरमा आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति समेत रहेकी विद्यादेवी भण्डारी आफैँले सार्वजनिक रूपमा एमालेको राजनीतिक सक्रियतामा पुनरागमन हुने घोषणा गरिन् । यस घोषणाले एकाएक नेकपा एमालेको आन्तरिक राजनीतिमा तरङ्ग ल्याएको छ । यद्दपि भण्डारी एमालेको सक्रिय राजनीतिमा आउने चर्चा केही पहिलेदेखि नै चलेको थियो । तर यस घोषणासँगै लामो समयदेखि एमालेको निर्विकल्प अध्यक्षका रूपमा रहेका केपी शर्मा ओलीको अहम्मा ठेसमात्र लागेको छैन, सशक्त विकल्प पनि देखिएको छ । यस वैकल्पिक शक्तिको उदयले ओली–युुगका अन्त्य हुनलागेको सङ्केत देखाएको छ ।
शारीरिक र मानसिक रूपमा क्षीण बन्दै गएका र पछिल्लो समयमा ऐतिहासिक अलोकप्रिय बनेका अध्यक्ष ओलीसँग पार्टीभित्रै असहमति राख्ने धेरै भए पनि भीम रावल हुने भयले कसैले बोल्ने आँट गरेका थिएनन् । विद्याको पुनरागमनको उद्घोषले त्यो समूहले नेतृत्व पाएको मात्र छैन, उत्साही पनि बनाएको छ । यस घटनाले पार्टीभित्र मात्र होइन, पार्टीबाहिर पनि ओलीको महाराजा शैली नरूचाउनेहरूको लागि ठूलो राहतको विषय बनेको हुनसक्छ ।
राजनीतिक वातावरणलाई आफ्नो अनुकूल बनाउने क्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीेले पूर्वराष्ट्रपतिका रूपमा राज्यबाट आफूले पाएको सुुविधा पनि त्याग गर्ने निर्णय गरेको बुझिएको छ । यसरी पार्टीभित्र सक्रिय राजनीति गर्ने वातावरण बनाइरहँदा ओलीबाट हुनसक्ने राजनीतिक र मानसिक आक्रमणतिर्र सङ्केत गर्दै उनले ‘अबको बाटो सङ्घर्षपूर्ण हुन सक्ने’ सङ्केत पनि गरेकी छन् ।
ओलीको भाषण : मदन भण्डारी र जबजमाथि नै प्रश्न ?
मदन आश्रित स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा केपी शर्मा ओलीले दिएको भाषणले कार्यकर्तालाई चकित पारेको हुन सक्छ । ओलीले सिधै नाम नलिए पनि मदन भण्डारीको राजनैतिक विचार विशेषतः ‘जनताको बहुदलीय जनवाद’ (जबज) माथि नै प्रश्न उठाएका थिए ।
उनको भनाइ थियो- ‘बेमौसमी बाजा नबजाऔं, पुराना कुरा दोहोर्याएर अहिलेका समस्याको समाधान आउँदैन ।’ यस टिप्पणीले ओली स्वयं मदन भण्डारीको राजनीतिक सिद्धान्तप्रति सशंकित रहेको देखिए । राजनीतिक विश्लेषकहरू भन्छन्- ‘यो सामान्य अभिव्यक्ति होइन, बरु वैचारिक असहमति र आन्तरिक शक्ति संघर्षको सुरुआती सङ्केत हुनसक्छ ।’
ओली–विद्या सम्बन्ध : हिजो मित्रता, अब प्रतिस्पर्धी ?
कुनै बेला केपी ओलीकै सद्भाव र सिफारिसमा राजनीतिक उचाइ पाएकी र राष्ट्रपतिजस्तो गरिमामय पदमा पुगेकी विद्या भण्डारीसँग ओलीको मित्रवत् र सुमधुुर सम्बन्ध रहेको थियो । तर अहिले त्यो सम्बन्ध चिसिएको मात्र होइन, सावधानीपूर्वक प्रतिस्पर्धात्मक स्थितिमा रूपान्तर भएको देखिन्छ । कार्यक्रममा ओलीले विद्याको कुनै भनाइलाई सम्बोधन नगरी आफ्नै शैलीमा मन्तव्य राखे । बरू मन्तव्यका क्रममा उनले कुनै सन्दर्भ नभएको मदन भण्डारीको चरित्रमाथि गम्भीर प्रश्न उठ्ने प्रसङ्ग कोट्याए । यसको पनि आफ्नै खालको राजनैतिक महत्व हुनसक्छ ।
एमाले : एक पार्टी, धार दुई !
आफूसँग असहमत हुने र वैकल्पिक शक्तिका रूपमा उदाउन सक्ने सम्भावना भएका सहकर्मी र कार्यकतालाई किनाराकृत गर्ने गरेका वा पार्टी विभाजन गरेर भए पनि निर्विकल्प शक्ति बन्दै आएका ओलीका लागि अबका दिन भने त्यति सहज हुने देखिन्न । कुनै बेलाकी उनकी प्रिय पात्र विद्याको राजनीति सक्रियता उनका लागि ठूलो चुनौती बन्ने निश्चित छ । हिजो ओलीका अगाडि केही बोल्न नसक्नेहरू अब निश्चित रूपमा विद्यातर्फ मुुखरित हुनसक्नेछन् । समयको माग सम्बोधन गर्न वा राजनीतिक निकास दिन महाधिवेशनअघि नै ओलीले राजनीतिक अवकाश लिएनन् भने अबको नेतृत्वको पूर्वअनुमान अहिले नै गर्न सकिन्छ ।
हुन त एक थरी राजनीतिक विश्लेषकहरू ओली र विद्यालाई पृथक रूपमा नबुझ्न आग्रह गर्दै विद्यालाई ओलीले नै राजनीतिक रूपमा प्रक्षेपण गरेका हुन् भन्छन् । आफ्नो अलोकप्रियताले शिखर छोएपछि भोलिका लागि राजनीतिक संरक्षणको लागि ओलीको छनौटमा विद्या परेकी हुनसक्छिन् । बाहिर द्वन्द्व देखिए पनि दुईबीच आन्तरिक सहमति भएको हुनसक्छ । राजनीतिमा असम्भव केही हुँदैन भन्ने धारणाले पनि यहाँ स्थान पाएको अनुमान लगाउन सकिन्छ । त्यसैले राजनीतिक आरोह–अवरोहको हिजोको पृष्ठभूमिलाई नजिकबाट नियाल्दा यस भनाइलाई पूरै काल्पनिक भन्न पनि गारो देखिन्छ । आगामी दिनहरूले दूध र पानीको निरूपण गर्ने नै छन् ।
