संस्मरण : वैशाख १२

सधैंझैँ २०७२ वैशाख १२ गते पनि मेरो दैनिकीaमा कुनै परिवर्तन थिएन । उषाको लाली पृथ्वीमा पोखिनुअघि नै परेवाको मिठो कुरकुरे आवाजसँगै म उठ्छु र नित्यकर्ममा लाग्छु । छोरी बहिनीका नित्यकर्महरू वा दैनिकीहरू छोरा अथवा भाइहरूका भन्दा केही फरक प्रकृतिका हुन्छन् र त्यही अनुसार आफूलाई व्यस्त बनाउँछु ।
बिहानको चियाको मेलो सकिएपछि भातभान्साको मेलो आरम्भ हुन्छ । शनिबारको दिन भएकोले अरू दिनभन्दा केही ढिलो गरी बिहानको खाना खाइन्छ । खानापछि बहिनी र म धन्दा सक्नतिर लाग्छौँ । दाइ बाइक लिएर साथी भेट्न भनेर निस्कनु हुन्छ । घरधन्दा सकेर बहिनी नुहाउन बाथरूम छिरेपछि म भने टिभी हेरेर रमाउने प्रयास गर्छु ।
टिभी हेदाहेर्दै अचानक झ्याप्प बिजुली जान्छ । म मनमनै नेपाल विद्युत प्राधिकरणलाई गाली गर्दै टिभी बन्द गर्न भनेर शोफाबाट उठ्छु । टिभी बन्द गरेर बस्न नपाउँदै घर हल्लिन थाल्छ । पहिले त म होसै पाउँदिनँ, त्यो आँधी–तुफान हो कि भूकम्प हो भनेर । जब कोठा अनियन्त्रित रूपमा हल्लिएर कोठामा सजाएर राखेका सामान खस्न थाल्छन्, अनि डर र त्रासले मेरो शरीर काम्न थाल्छ । मुटुको धड्कन बढेर छातीबाट बाहिर निस्केला जस्तै हुन्छ ।
के गर्ने के नगर्ने भनेर म त भावशून्य जस्तै बन्छु । घरबाहिर कोलाहल सुनिन थाल्छ । मान्छेहरू “भैँचालो, भैँचालो” भन्दै आत्तिएर कराउन थाल्छन् । म पनि डराउँदै झ्यालबाट चियाएर बाहिर हेर्छु, घरनजिकै पार्किङ् गरेर राखेका बाइकहरू भकाभक लडिरहेका देखिन्छन् । यता आफू बसेको घर थरथरी कामिरहेको हुन्छ । आफ्नै सामानले आफैंलाई थिच्ला वा किच्ला कि झैँ भएको बेला मलाई रूने कि, कराउने कि, चिच्याउने कि, गुहार माग्ने कि, के गर्ने के गर्ने भन्ने अन्यौल हुन्छ । म जीवनको पहिलो त्रासदीपूर्ण वातावरणमा मन्त्र बिर्सेको पण्डितझैं रनभुल्ल हुन्छु ।
सबै जना घरबाहिर निस्केकाले मलाई पनि कोठाबाट जसोतसो खुल्ला ठाउँमा निस्कन मन त लागेको हुन्छ तर बहिनी बाथरूममा थिई, उसलाई एक्लै छोडेर जाने कुरै भएन । म बाथरूमको ढोका ढकढक्याउँदै बहिनीलाई बाहिर निस्कन आग्रह गर्छु तर घर पूरै हल्लिइरहेको बेला चुक्कुल पनि सजिलै खुल्दोरहेन छ । बहिनी रूँदै बाथरूम भित्रबाट कामेका हातले चुक्कुल खोलेर बाहिर निस्कने प्रयास गर्छे, म बाहिरबाट ढोका तान्छु तर केही गर्दा पनि ढोका खुल्दैन । अथक प्रयासपछि बल्ल बल्ल ढोका खुल्छ । हामी दिदीबहिनी हतार हतार बाहिर निस्कन प्यासेजसम्म पुगेका हुन्छौँ तर फेरि बरण्डाको गेट खुल्दैन ।
डर र त्रासले लगलग कामेका हातले बरण्डाको गेट खोल्दाखोल्दै पहिलो चरणको भूकम्पले केही क्षणका लागि विश्राम लिन्छ । तर त्यति बेला फिल्म सकिएको हो कि मध्यान्तर मात्र भएको हो हामीलाई थाह हुँदैन ।
भूकम्प रोकिएपछि हामी दिदीबहिनी बाहिर निस्केर चौरमा पुग्छौं, त्यहाँ सयौँको सङ्ख्यामा उपस्थित भीडको रूवाबासी देखेपछि मलाई पनि मन खोलेर रून मन लाग्छ तर त्यसरी रून पनि सक्तिनँ । म आफू एकदम असहाय भएको ठान्छु । मलाई घर छोडेर डेरा गरी बस्ता अभिभावकबिहीन हुनुपरेको पीडा बोध हुन्छ । अनि अचानक घरको याद आउँछ र आमाबाबासँग सम्पर्क गर्न मन लाग्छ ।
तर मोबाइल हेर्छु, आफ्नो हातमा मोबाइल हुँदैन । अनि चाहिँ मलाई साँच्चै रून मन लाग्छ । जीवन नै सङ्कटमा परेको बेला मोबाइल कहाँ झ-यो कि कहाँ प-यो, ख्यालै भएन । मोबाइल हुनेहरू आ–आफ्ना मान्छेसँग सम्पर्क गर्न खाज्दै थिए, तर टावरले काम नगरेकोले सबै हैरान भएझैं देखिन्थे । बल्ल बल्ल मोबाइल सम्पर्क हुनेहरूले काठमाडौँका ऐतिहासिक धरोहरहरू सबै ध्वस्त भएको, हजारौँ मान्छेहरू हताहत भएको र गोरखालगायत कतिपय जिल्लाहरू पनि ध्वस्त भएको कुरा रूँदै सुनाउँछन् । त्यस्तो कुरा सुन्दा अब आमाबाबा, दाजुभाइ कसैसँग भेट हुँदैन कि जस्तो आतेस लाग्थ्यो र रून मात्र आउँथ्योे ।
रून्न भन्दाभन्दै पनि आँसु झरेको पत्तै हुँदैनथ्यो । हामी दिदीबहिनी त जे भए पनि सँगै थियौँ र ठिकै थियौँ तर आफैँसँग भएको एउटा दाइ पनि बाहिर भएकोले दाइकै पनि चिन्ताले सताइरहेको थियो । त्यस बेला हामी दिदीबहिनीबाहेक हाम्रा आफन्त अरू पनि कोही बाँचेका होलान् र पुनः भेट होला जस्तो लागेको थिएन र म हतास मनस्थितिमा थिएँ । त्यसैले यथाशीघ्र मोबाइलबाट सम्पर्क गर्न चाहन्थेँ ।
भूकम्पले पुनः अर्को धक्का दियो । झन् त्रासदी फैलियो । अझै के के हुने हो र के के झेल्नु पर्ने हो भनेर सबै त्रस्त भयौँ । यसबीच कसैसँग सम्पर्क हुन सकेको थिएन । मोबाइल नै थिएन, सम्पर्क पो कसरी होस् र ? मैले साचेँ, मेरो मोबाइल कोठामा नै छुटेको हुनुपर्छ । मलाई दुस्साहस आयो र अरूले रोक्तारोक्तै म कोठामा गएँ । न भन्दै मेरो मोबाइल एक्लै कोठामा बसेर मेरै आगमनको प्रतीक्षा गरिरहेको रहेछ । एउटाले अर्कोलाई देखेर पीडाभित्र पनि हामी मुस्कुराइदियौँ ।
मोबाइल बोकेर बाहिर आएँ र घरमा फोन लगाएँ, जति कोसिस गर्दा पनि फोन लागेन । हामी बसेका ठाउँमा कोही पीडामा, कोही शोकमा र कोही दुःखद् समाचार आउला कि भन्ने त्रासमा रहेका देखिन्थे । हामी सामूहिक रूपमा शोक मनाउन उभिएजस्ता भएका थियौं । हामीले हाँस्न र रमाइलो गर्न बिर्सिएका जस्तै भएका थियौं । मनमनै भगवानलाई पुकार्दै अप्रिय समाचार सुन्नु नपरे हुन्थ्यो भन्ने कामना गरिरहेका थियौं । तर भगवानकै नाम लिँदा पनि मोबाइलबाट सम्पर्क चाहिँ भइरहेको थिएन । आमाबाबाको आवाज सुन्न लालयित मेरो मानसिकता शिथिल हुँदै थियो । अचानक प्रेसर लो भएर होला, मलाई फिनिनी घुमाएजस्तो भयो । गोडाहरू लुलो भएर आए, म उभिएकै ठाउँमा थचक्क बस्न पुगेँ ।
मोबाइलको नेटवर्कले काम नगर्दा र इलेक्ट्रोनिक सञ्चार माध्यमहरू पनि अबरूद्ध भई मुलुकमा के भइरहेछ भन्ने जानकारी नपाउँदा आफूलाई कुवामा खसेर निसास्सिएको भ्यागुतोजस्तै अनुभूति भयो । सबैलाई मरिन्छ कि बाँचिन्छ भनेर मृत्युको संत्रासले बिचलित बनाइरहेको बेला आफ्नो पीडा कोसँग बाँड्ने ? सम्भव पनि थिएन ।
तुफानका बीच पनि पिलपिल बलिरहेको बत्ती जस्तै आशाको बत्ती पिलपिल बालेर बसिरहेको बेला एक्कासि आमाको फोन आयो । आमाको बोली सुनेपछि त मलाई रून पो आएछ । मैले “आमा…” मात्र भन्न सकेकी थिएँ, भित्रबाट भक्कानो फुटेर आयो । आमाको बोलीले मात्र पनि आमाकै सन्निकट भएको आभास दिलायो र आमासँगै हुँदाको जस्तो गरी रोएदिएँ । आमाले सम्झाउनु भयो । घरपरिवार सबै ठिकै भएको तथा दाइ पनि सकुसल भएको सन्देश पाएपछि भने ठूलो राहत महसुस भयो ।
मैले पनि आमालाई आफू र बहिनी सकुसल भएको जानकारी गराएँ । आमाले “भूकम्पको केन्द्र गोरखा अरे । त्यहाँ काठमाडौँमा त्यति केही नहोला, तर पनि तिमीहरू सुरक्षित भएर बस…” भन्दै हुनुहुन्थ्यो, मोबाइल डिस्कनेक्ट भयो । धन्न यति पनि बोल्न पाइयो भनेर ठूलो राहत भएको महसुस भयो ।
बल्ल म छेउछाउका साथीभाइहरू चिन्न सक्ने, बोल्न सक्ने र अरूका कुरा पनि सुन्न सक्ने भएँ, यद्दपि मेरो शरीर डरले वा भयले कामिरहेको थियो । भोकतिर्खा गायब थियो । कतिपय साथीभाइहरू मोबाइलबाट एफएम सुन्दै थिए । कहाँ के भयो भनेर जान्ने जिज्ञासा त हामी सबैलाई हुन्थ्यो तर आफन्तहरू नै मारिएको हृदयविदारक समाचार आउला भनेर समाचार सुन्दा पनि भयभीत हुन्थ्यौँ ।
त्यहाँ हामी सात तला घर हुनेहरू र तलै नहुनेहरू सबै एकै ठाउँमा थियौं । मान्छेका घरका जति तला भए पनि सङ्कट पर्दा त सबै फुटपाथमा नै ओर्लिनु पर्दोरहेछ, अनि घमण्ड किन त ? भन्ने पनि लाग्यो । एक बोत्तल पानी पनि सबैले बाँडेर पिएको र सबैले सबैलाई सबै प्रकारको सहयोग गरेको देख्ता मानिसमा बड्दै गएको अहङ्कारलाई देखेर प्रकृतिले नै मानिस मानिसबीच सामाजिक सद्भाव बढाउन भूकम्पको खेल खेलेको पो हो कि जस्तो पनि लाग्यो । त्यहाँ न जातीय विभेद थियो, न घनी र गरिबको रेखा नै । कति मिठो समानता…. के कुनै कुनै राजनैतिक दलहरूले भन्ने गरेको सामाजिक समानता वा वर्गविहीन समाज भनेको यस्तै हो ?
वैशाख १२ गतेपछि पनि धेरै पटक यो भूमि हल्लिइसक्यो तर अभ्यस्त भएरै होला, त्यो दिनको जस्तो कहालीलाग्दो अवस्था भोग्नुपरेको छैन । आफन्तजन, भौतिक संरचना तथा ऐतिहासिक सम्पदा गुमाएर पनि नयाँ ढङ्गले जीउन सिकिएको छ (जीउनु पर्दो रहेछ पनि) यद्यपि त्रास अझै बाँकी नै छ । मेरो जीवनको त्यो कालो दिन एउटा अविस्मरणीय घटना बनेर कालान्तरसम्म मेरो मानपटलमा रहिरहने छ ।।
२०७२/११/१९

सम्बन्धित समाचार