

लोकतन्त्रमा संसद भनेको मुलुकको मुटु हो– जहाँबाट जनताका मुद्दा, नीति, सुशासन र कानुन रगतको रूपमा निर्वाध प्रवाह हुनुपर्ने हो । जनताका पीर–मर्का र असजिलोपनलाई निराकरण गर्दै जनताको दैनिकी र मुलुकको मुहार फेर्ने विषयमा गम्भीर समीक्षा हुनुपर्ने हो । र, आफ्ना जनप्रतिनिधिले संसदमा निर्वाह गरेको भूमिका देखेर मतदाताको छाती गर्वले फुल्नु पर्ने हो तर आजभोलि संसदीय गतिविधि हेर्दा लाग्छ– यो त फगत दलगत झगडा, व्यक्तिगत कटाक्ष, राजनीतिक बदला लिने र जुँगाको लडाइँ गर्ने स्थान मात्र हो ।
संसदमा अहिले जनताका जल्दाबल्दा मुद्दाहरू ओझेलमा परेका छन् । त्यहाँ देश र जनताका कुराभन्दा बढी गुटगत स्वार्थका कुरा हुन्छन् । सांसदहरू अहिले जिम्मेवार बहसमा भन्दा बढी दलगत र व्यक्तिगत इगो देखाउन, बहुमतले अल्पमतलाई ‘पावर’ देखाउन र कथित पुरानाहरूले नयाँलाई आफ्नो भाग खोस्न आएका वा संस्कारका रूपमा आफूले गर्दै आएको बेइमानीलाई अनावश्यक रूपमा भाँजो हाल्न आएकाहरू ठानेर उनीहरूलाई ‘देखाइदिने’ मुडमा संसदलाई दुरुपयोग गर्दैछन् । र यिनीहरूले संसदीय गतिविधिलाई हेर्न टिभीका अगाडि बस्दा पनि रेस्लिङ शो हेर्न बसेको आभास दिलाइरहेका छन् । यस्तो चरित्र वा गतिविधिले संसद र सांसदको मर्यादालाई कहाँ पुर्याउला ? हेक्का राख्नुपर्ने हो ।
अहिले आफ्ना शीर्षनेतालाई रिझाउने शैलीमा पनि परिवर्तन आएको छ । नेताले आफूलाई ‘झोले’ भन्यो भने त्यो नेतालाई खुसी पार्ने प्रतिस्पर्धामा ‘म पनि झोले, म पनि झोले’ भन्दै हिँड्न थाल्छन् । नेतृत्वलाई खुसी पार्न सके केही लाभका पद पाइन्थ्यो कि भन्ने अभिप्राय उनीहरूको हुन सक्छ । त्यस्तै कुनै ठूला दलका नेताले संसदमा उभिएर कसैलाई चोच्याएर बोल्यो भने निजलाई खुसी पार्न अरूहरू पनि झन रुखो स्वरमा त्यसलाई निरन्तरता दिन्छन् । पछिल्लो उदाहरणका रूपमा प्रधानमन्त्रीको स्पेन भ्रमणका क्रममा सांसद सोभिता गौत्तमले भिजिट भिसाका सन्दर्भमा बोलेको कुरालाई लिएर संसदमा देखाइएको रमितालाई लिन सकिन्छ ।
सांसद गौत्तमको अभिव्यक्तिप्रति एमाले र काङ्ग्रेसका सांसदहरूको कडा आलोचनापछि गृहमन्त्री रमेश लेखकले समेत रोष्टममा उभिएर प्रतिपक्षमा रहेका रास्वपाका सभापति रवि लामिछानेप्रति लक्षित र लान्छित गर्दै कटाक्ष गरेर आत्मसन्तुष्टि लिए । गृहमन्त्रीको यस्तो कटाक्षले बाढी पीडित, पहिरो पीडित र मल नपाएका किसानलाई कति लाभ पुग्यो ? उनै जानुन् । तर यस्ता आत्मरतिमा रमाउने अभिव्यक्तिले विभिन्न प्रकोपको मारमा परेका जनतालाई कति राहत देला, समयले कुनै दिन निर्मम समीक्षा गर्ने नै छ !
जनताले देखेको संसद : कुण्ठाको अभिव्यक्तिस्थल
आफ्ना जनप्रतिनिधिहरूका यस्ता निराशापूर्ण व्यवहारले मतदाताहरू आफैँ निराश हुन पुगेका छन् । चिया पसलदेखि चौतारोसम्म, टोले बैठकदेखि सामाजिक सञ्जाल फेसबुक र ट्वीटरसम्म उठाइएको प्रश्न हो– जनप्रतिनिधिहरू जनप्रतिनिधिजस्ता भएनन् । यिनीहरूले गर्नुपर्ने केही गरेनन् तर नगर्नु पर्ने चाहिँ धेरै गरे । यिनीहरूबाट अब पनि धेरै अपेक्षा नगरे हुन्छ । देश र जनताको अवस्था बदल्ने हो भने ८४ मा भोट बदल्न सक्नुपर्छ ।
उचित भूमिका नपाएर हो कि, अल्पमतमा परेर हो वा गर्न ढङ्ग नपुगेर हो, आशा गरिएका केही नयाँहरूबाट पनि अपेक्षित काम हुन नसकेको साँचो हो । पुरानै रवाफ र पुरानै शैलीलाई आत्मसात गर्ने हो भने अनुहार मात्र नयाँ भएर केही हुनेवाला छैन । अहिले उदाएका नयाँ अनुहारहरू वा युवाहरूले जनमानसमा आशा जगाउन सकेनन् भने आउनेवाला र धेरै सम्भावना बोकेकाहरूलाई पनि क्षति पुर्याउन सक्छ । यस कुरामा ध्यान जानु जरुरी छ ।
लोकतन्त्र उदार हुनुपर्छ । यसले पुरानो अनुहार र पुरानो विचारलाई विदाइ गर्दै नयाँ विचार र नयाँ अनुहारलाई स्वागत गर्न सक्नुपर्छ । कुनै ‘तन्त्र’ आफैंमा खराब वा असल हुँदैन । संसारमा धेरै खालका तन्त्र छन् र ती सबै आ–आफ्ना ठाउँमा समृद्ध छन् । कुनै पनि तन्त्रको भविष्य यसलाई हाँक्ने व्यक्ति वा नेतृत्वमा भर पर्दछ । त्यसैले नेपाल समृद्धशाली नहुनुमा यो वा त्यो तन्त्रको समस्या नै होइन, समस्या मुलुकले असल र इमानदार नेतृत्व नपाउनुको हो । त्यसैले मुलुक दूरदृष्टि भएको एउटा असल, इमानदार र आफ्नो भूमिकालाई न्याय गर्न सक्ने नेतृत्वको पर्खाइमा छ ।
