सवारी दुर्घटनामा चार जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । रूपन्देहीको गैडहवा गाउँपालिका-६ गुलरियास्थित सडकमा मंगलपुरबाट कलोनितर्फ जाँदै गरेको लु.७४ प ४६२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा चालक सोही गाउँपालिका-५ गिदहिया बस्ने २१ वर्षीय करण कोहारको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सिटी अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै झापाको कमल गाउँपालिका-६ मंगलबारेस्थित सडकमा मे.१ च ८२५ नम्बरको भ्यानमा को.१८ प ३७७ नम्बरको मोटरसाइकल ठक्कर खाई सोमबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका-५ बस्ने ७६ वर्षीय कृष्ण प्रसाद खनालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको दमक अस्पताल एण्ड रिसर्च सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । भ्यान चालक र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै चितवनको खैरहनी नगरपालिका-१ शाही चोकस्थित सडकमा ना.३ च ६६१० नम्बरको बलेरोको ठक्करबाट पैदलयात्री पर्सा वीरगंज महानगरपालिका-११ बेलुवा बस्ने ३१ वर्षीय राम अवतारको सोमबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बेलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता सर्लाहीको लालबन्दी नगरपालिका-१ लच्कास्थित सडकमा को.१ ख ५९३८ नम्बरको ट्याङकर र बा.८७ प १३७० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक हरिवन नगरपालिका-४ सासापुर बस्ने ३१ वर्षीय राम बहादुर स्याङतानको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार