नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ साउन ।


देशका विभिन्न स्थानबाट मृत अवस्थामा सात जना फेला परेका छन् । बाँकेको डुडुवा गाउँपालिका–५ बाउनबगैंचास्थित गोठ नजिकै सोही ठाउँ बस्ने ५८ वर्षीया दर्सनी परियार बुधबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै बर्दियाको बढैयाताल गाउँपालिका–४ खैरेनीस्थित मानखोलाको किनारमा नाम, थर र वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै महोत्तरीको जलेश्वर नगरपालिका–१ स्थित संसारीमाई पोखरीमा पनि एक पुरुष मृत फेला परेका छन् । सोही नगरपालिका– २ साउजीपट्टी डेरा गरी बस्ने सोही नगरपालिक-८ सानो रतवाडा घर भएका ५५ वर्षीय रामचन्द्र मुखिया बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।
उता ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ जयरामघाटस्थित माइतिघर बस्ने महोत्तरी बर्दिबास नगरपालिका–११ खयरमारा घर भएकी २९ वर्षीया संन्जुमाया राई आफ्नै माइतीघरमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् । यता सप्तरीको राजगढ गाउँपालिका-५ मलेखपुर कामत टोलस्थित धान खेतमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी चितवनको भरतपुर महानगरपालिका-३ न्यूरोडस्थित सडक पेटीमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी सुनसरीको धरान उपमहानगरपालिका-८ शनिमन्दिर छेउमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

