नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ साउन ।


देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-४ नाम्देल बसपार्कस्थित सडकमा बा.३ ख ४३४५ नम्बरको गाडीको ठक्करबाट सोही नगरपालिका-४ बस्ने संखुवासभा घर भएका फुर्बा शेर्पाकी छोरी २ वर्षीया फुर्पुलामो शेर्पाको बिहीबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।
गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै चितवनको रत्ननगर नगरपालिका-३ शान्ति चोकस्थित सडकमा प्रदेश २-०२-००१ च ०५१० नम्बरको बोलेरोले बा.प्र.०६-००१ प ३५०९ नम्बरको मोटरसाइकललाई गए राति ठक्कर दिँदा मोटरसाइकल चालक कालिका नगरपालिका-२ बस्ने ३५ वर्षीय मुकुन्द कँडेलको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै सिन्धुलीको सुनकोशी गाउँपालिका-६ शितलपाटीस्थित सडकमा काठमाडौंबाट बर्दिबासतर्फ जाँदै गरेको बा.प्र.०१-०२४ च ९९१३ नम्बरको पिकअप गाडी अनियन्त्रित भई गए राति दुर्घटना हुँदा पिकअपमा सवार मकवानपुर मनहरी गाउँपालिका-४ घर भएका ३८ वर्षीय धर्मराज रेग्मीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका पिकअप चालकलाई थप उपचारको लागि घुलिखेल अस्पताल पठाइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

