सवारी दुर्घटनामा चार जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-२९ भद्रकालीस्थित सडकमा बा.७५ प १९४४ नम्बरको स्कुटरलाई हाल नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिँदा स्कुटर चालक ललितपुर महानगरपालिका-१५ सातदोबाटो डेरा गरी बस्ने मकवानपुर बकैया गाउँपालिका-४ घर भएका ३८ वर्षीय राम कृष्ण बजगाईको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन अस्पताल ललितपुरमा थप उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको हो । प्रहरीले हाल फरार मोटरसाइकल र चालकको खोजी गरिरहेको छ । त्यस्तै ललितपुरको ललितपुर महानगरपालिका-१९ बालकुमारीस्थित सडकमा ग्वार्कोबाट कोटेश्वरतर्फ जाँदै गरेको बा.४ ख २४७७ नम्बरको मिनि ट्रकको ठक्करबाट पैदलयात्री हाल नाम, थर र वतन नखुलेकी अन्दाजी २३ वर्षीया महिलाको शनिबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मिनि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै झापाको दमक नगरपालिका-४ चियाबगानस्थित सडकमा उर्लाबारीबाट दमकतर्फ आउँदै गरेको प्रदेश १-०१-००१ ख ४३६३ नम्बरको बसको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-४ घरघरे बस्ने ६० वर्षीय सोम बहादुर विकको शनिबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको दमक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता काभ्रे, पनौती नगरपालिका-३ बगुवास्थित सडकमा कुशादेवीबाट आशापुरी मन्दिरतर्फ जाँदै गरेको बा.६२ प ६६१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-५ बस्ने ३२ वर्षीया सुजना खत्रीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक समेत २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार