नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ साउन ।


देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । झापाको मेचीनगर नगरपालिका-१२ सरेडाँगिस्थित मे.१ च ६१३१ नम्बरको स्कार्पियोको ठक्करबाट पैदलयात्री हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४६ वर्षीय पुरूषको आइतबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डबी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । स्कार्पियो चालकलाई प्रहरीले
नियन्त्रणमा लिएको छ । त्यस्तै तनहुँको आँबुखैरेनी गाउँपालिका-१ बरादीस्थित सडकमा को.२८ प २४२२ नम्बरको स्कुटर अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुदाँ चालक सुनसरी धरान उपमहानगरपालिका-८ बस्ने २९ वर्षीय समीर कार्कीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सिएमसी अस्पताल चितवनमा थप उपचारको क्रममा मृत्यु भएको हो । यस्तै कपिलवस्तुको शिवराज नगरपालिका-१ उमरी चोकस्थित सडकमा ग.१ ख ९०१३ नम्बरको बस र लु.१ ह ४९५४ नम्बरको अटो एकआपसमा ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा अटोमा सवार दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा अटो चालक शिवराज नगरपालिका-१ उमरी बस्ने ५० वर्षीय रित बहादुर सुनार र अटोमा सवार सोही नगरपालिका-३ बलुवा बस्ने १७ वर्षीया रूबिना राना रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको सिटि अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार अन्य दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता रौतहटको मौलापुर नगरपालिका-६ पथराबुधरामस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीय महेन्द्र राय यादवको आइतबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको राजेश मेडिकल हल मौलापुर हुँदै थप उपचारको लागि नेशनल मेडिकल कलेज वीरगंज पर्सातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
हाल फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ । यता सिरहाको लहान नगरपालिका-२३ बथनाहा चोकस्थित सडकमा म.प्र.०१-००४ प ७४०३ नम्बरको मोटरसाइकल र प्रदेश २-०१-००१ ह ०४६९ नम्बरको अटो एकआपसमा ठक्कर खाई आइतबार बेलुकी दुर्घटना हुँदा अटोमा सवार हाल नाम, थर र वतन नखुलेका अन्दाजी १८ वर्षीय किशोरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र अटोमा सवार एक जनाको विराटनगर नोबेल अस्पतालमा उपचार भइरहेको छ । हाल फरार अटो चालकको प्रहरीले खोजी गरिरहेको छ । यसैगरी मोरङ, पथरीशनिश्चरे नगरपालिका-१० शिविर डाँडास्थित सडकमा प्र.१-०२-००३ ह ६६० नम्बरको अटोले को.१८ प ७०५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मिक्लाजुङ गाउँपालिका-९ बस्ने २८ वर्षीय सुजन दर्जीको मृत्यु भएको छ ।
आइतबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

