आज नागपञ्चमी, थारु समुदायको मौलिक पर्व ‘गुरही’ पनि आजै

आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर नागपञ्चमी पर्व मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ ।

यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो ।



“नाग पूजाको प्रचलन वैदिककालदेखि सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको ‘राजा’ मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । बराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ”, उहाँले भन्नुभयो ।

प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाइ गएमा घरको जग भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको डा भट्टराईले बताउनुभयो । नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातनकालदेखि छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रूपमा मान्ने गरिएको उहाँले उल्लेख गर्नुभयो ।

प्रथम पूजाको अधिकार पाउनुभएका भगवान् श्री गणेशको एक हातमा नाग छ । भगवान् विष्णुको अवतारका रूपमा जन्म लिनुभएका श्रीरामचन्द्रका भाई लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रूपमा मानिन्छ । दुवैले दुर्जनको नाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको अवतारका रूपमा जन्म लिनुभएका श्रीराम र श्रीकृष्णलाई सहयोग गर्न जन्म लिएको कथा विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

थारु समुदायको मौलिक पर्व ‘गुरही’ पनि आजै

थारु समुदायले पहिलो पर्वका रुपमा मनाउने ‘गुरही’ आज उल्लासपूर्वक मनाइँदैछ । विभिन्न कार्यक्रमको आयोजना गरी कैलालीलगायत थारु समुदायमा यो पर्व मनाइँदैछ ।

थारु समुदायले मनाउने गुरही पर्व एक विशिष्ट सांस्कृतिक पहिचान बोकेको जनविश्वास छ । विशेषगरी पश्चिम नेपालका कैलाली, कञ्चनपुरलगायत जिल्लामा बसोबास गर्ने थारु समुदायले यो पर्वलाई विशेष महत्त्वका साथ मनाउँछन् । यो पर्व श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीको दिन मनाइन्छ ।

नागपञ्चमीमा विशेषगरी नेपालीहरू नागको पूजाआजा गर्छन् भने थारु समाजमा ‘गुरही’ पूजा हुने गरेको घोडाघोडी नगर भल्मन्सा कार्यसमितिका अध्यक्ष बुधराम चौधरीले जानकारी दिनुभयो ।

गुरही पूजा गर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, रोगव्याधी महामारी घरमा प्रवेश नगर्ने जनविश्वास रहिआएको उहाँले बताउनुभयो । पर्वका अवसरमा विभिन्न कार्यक्रम पनि आयोजना गरिन्छ ।

यसैबीच घोडाघोडी नगर भलमन्सा कार्यसमितिको आयोजनामा गुरही असरैना कार्यक्रम गरिने नगर भलमन्सा कार्यसमितिका सचिव अमन चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यक्रममा विभिन्न सांस्कृतिक नाचगान पनि देखाइनेछ । गुरही पूजाका अवसरमा कैलालीका स्थानीय तहहरुले सार्वजनिक बिदासमेत दिएका छन् ।

सम्बन्धित समाचार