नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ साउन ।


देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । काठमाडौं, महानगरपालिका-३२ स्थित सडकमा बा. प्र.०१- ००४ ख ३२८७ नम्बरको ट्याङ्करले बा.प्र.०२ -०३३ प २५४८ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार कोटेश्वर बस्ने काभ्रेपलान्चोक रोशी गाउँपालिका-३ घर भएका २५ वर्षीय नवराज तुम्सिङ मगरको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै मोरङको सुन्दरहरैंचा नगरपालिका-४ स्थित सडकमा को. ३८ प ९६५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-६ बस्ने ७० वर्षीया लिलम दाहालको मृत्यु भएको छ । बुधबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको बिराट नसिङ होम विराटनगरमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै गोरखाको गोरखा नगरपालिका-१० बिरेनचोकस्थित सडकमा लु. ६१प ४६८५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय क्षेत्र बहादुर थापाको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सरकारी अस्पताल भरतपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता सप्तरीको अग्निसाईर कृष्णसावरण गाउँपालिका-३ स्थित सडकमा स. ८ प ५९१९ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ३० वर्षीय शत्रुधन सदाको गए राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य एक जना साइकलयात्रीको सोही अस्पताल र मोटरसाइकल चालक र मोटरसाइकलमा सवार एक जनाको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचार भइरहेको छ ।
यता उदयपुरको उदयपुरगढी गाउँपालिका-७ अधेरीस्थित सडकमा प्र.१-०२-९९१ ख ९२६० नम्बरको ट्रक अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका-४ बगाहा बस्ने ३५ वर्षीय जिवन विकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

