श्रावण १५ को सांस्कृतिक परम्परा : काङ्ग्रेस नेता केसीको आयोजनामा खीर खाने कार्यक्रम सम्पन्न

नेपाली काङ्ग्रेस नुवाकोटका नेता तथा पूर्व संविधानसभा सदस्य जगदीश्वरनरसिंह केसीले विगतका वर्षहरूझैँ यस वर्ष पनि श्रावण १५ को अवसरमा खीर खाने कार्यक्रम भव्य रूपमा सम्पन्न गरेका छन् । पाँचौं पटकसम्म निरन्तरता दिइएको यस कार्यक्रम बिहीवार काठमाण्डौस्थित उहाँकै निवासमा सम्पन्न भयो।



कार्यक्रममा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता अर्जुननरसिंह केसी, पूर्णबहादुर खड्का, बालकृष्ण खाँड, राप्रपाका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी, नेता जनकराज पाठक, भिमसेन दास प्रधान, मोहन आचार्य, चीनकाजी श्रेष्ठ, अजयबाबु शिवाकोटी लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा शुभेच्छुक तथा कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमार्फत आमन्त्रित गरिएको थियो। निमन्त्रणा स्वीकार गरी करिब ३ हजारभन्दा बढीको उपस्थितिमा सम्पन्न कार्यक्रमले आपसी सद्भाव, एकता र सांस्कृतिक मूल्यको जगेर्ना गरेको नेता केसीले बताए।

“हाम्रा पुर्खाहरूले मौसमअनुसारको श्रम र स्वास्थ्य सन्तुलनमा राख्न श्रावण १५ मा खीर खाने परम्परा बसालेका थिए,” नेता केसीले भने, “वर्षाको समयमा शरीरलाई उर्जा दिन र निरोगी राख्न यो चलन सुरु गरिएको हो।”

नेता केसीले विगतको अभ्यासलाई निरन्तरता दिँदै भविष्यमा पनि यो परम्परा जिवन्त राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा उपस्थित सबै अतिथि, शुभेच्छुक र कार्यकर्ताप्रति हार्दिक आभार प्रकट गर्दै उनले भने, “हाम्रो निम्तोलाई स्वीकार गरेर उपस्थित हुनुभएका सबैप्रति म आभारी छु।”

सम्बन्धित समाचार