

फोहरमैला व्यवस्थापन संघ नेपालको हालै सम्पन्न साधारण सभाबाट रामकुमार घिमिरे अध्यक्ष पदमा निर्वाचित भएका छन् । घिमिरेको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।
नवनिर्वाचित अध्यक्ष घिमिरेले काठमाडौं र ललितपुर महानगरपालिकाबाट बन्चरेडाँडा लानुपर्ने फोहोर ढुवानी प्रक्रियालाई अझ व्यवस्थित बनाउने प्रतिबद्धता जनाएका छन् । विशेषगरी ढुवानीको क्रममा सवारी साधनबाट फोहोर खस्दा बाटो दुर्गन्धित हुने समस्यालाई समाधान गर्न प्रभावकारी उपायहरू अवलम्बन गरिने उनको भनाइ छ।
यसै अवसरमा श्रावण १५ गते मधुवन रिसोर्ट, काठमाडौंमा आयोजित खीर खाने कार्यक्रमको अवसर पारेर नेपाली कांग्रेस नुवाकोटका नेता तथा संविधानसभा सदस्य जगदीश्वरनर्सिंह केसीले नवनिर्वाचित कार्यसमितिलाई बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
कार्यक्रममा नेपाली कांग्रेसका विभिन्न तहका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । उपस्थित नेताहरूमा कांग्रेस केन्द्रीय महासमिति सदस्य कृष्ण वाइवा, बागमती प्रदेश सदस्य रिसीकुमार तामाङ, क्षेत्रीय सचिव नित्यराज ढुंगाना, अर्का सचिव जगदीश कुइकेल, ककनी गाउँपालिका वडा नं. ५ का अध्यक्ष बुद्धराज तामाङ, वडा नं. ७ का अध्यक्ष रामकृष्ण तामाङ, वडा नं. १ का उम्मेदवार गोपी फुयाल, वडा नं. ३ का सभापति श्रीहरि ढकाल, वडा नं. २ का उम्मेदवार सूर्यजिम्बा तामाङ, वडा नं. १ का नेता रामकृष्ण बलामी, र म्याग्याङ गाउँपालिका–५ का सभापति जितबहादुर तामाङ लगायत शुभेच्छुक, स्थानीय जनप्रतिनिधि र कार्यकर्ताहरूको बाक्लो सहभागिता रहेको थियो।
कार्यक्रमका वक्ताहरूले फोहरमैला व्यवस्थापन संघ नेपालको भूमिका अझ प्रभावकारी, उत्तरदायी र योजनाबद्ध हुनुपर्नेमा जोड दिँदै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

