

‘ए सुनिस्, ठूलीका लागि एउटा बिहेको प्रस्ताव आएको छ, के गर्ने होला ?’ ठूलीका बाबाले श्रीमतीसँग सल्लाह मागे झैँ गरे ।
‘म के भन्नु र ? राम्रो ठाउँबाट कुरा आएको हो भने गरेकै राम्रो होला नि त । बिहे गर्ने उमेर पनि भएकै हो । हुन त उसलाई धेरै पढाउने रहर त थियो नै, तर सकिन्न । फेरि भनेको बेला राम्रो कुटुम्ब पाउन पनि गारो हुन्छ ।’ ठूलीकी आमाले जवाफ दिइन् ।
‘बरू एकपल्ट यसो ठूलीलाई पनि सोधेर हेर न त ।’
‘त्यसले के पो भन्छे होला र ? तैपनि सोधि हेरौंला ।’
ठूलीकी आमाको सोचाइको विपरीत बिहेको प्रस्ताव सुनेर सोह्र वर्षे ठूली त खुसीले फुरूङ्ग पो भई । ठूलीले गाउँघरका उसका साथीसँगीको बिहेमा जाँदा बेहुलीहरूले राता र राम्रा लुगा लगाएको, सुन्दर ढङ्गले सिँगारिएको र बिहेपछि सिन्दुरपोतेले सजिएर लोग्नेका अघिपछि हाँस्तै रमाउँदै हिँडेको देखेकी थिई । उसको घरको आर्थिक अवस्था राम्रो थिएन । कति वर्षदेखि उसले राम्रो लुगा लगाएर ठाँटिएर हिड्न पाएकी थिइन । दशैँ र तिहारजस्ता चाडपर्वमा समेत उसले भने जस्तो गरी मिठो–मसिनो खान र साथीहरूको जस्तो लाउन पाएकी थिइन । त्यसैले ठूलीले सोची, बिहेपछि उसले मिठो खान र राम्रो लगाउन पाउने छ । स्कुल–कलेज पढाउने बाबाआमाको आर्थिक अवस्था थिएन । अतः उसलाई लाग्यो, बिहेको प्रस्ताव आएको भए ठिकै पनि छ । छोरीको जात, एकदिन त अर्काकोमा जानै पर्छ । धेरै बेर सोचविचार गरेपछि केही लजाए झैँ गरी ठूलीले आमालाई जवाफ दिएकी थिई ‘हुन्छ ।’
ठूलीको ‘हुन्छ’ जवाफले उसका बाबाआमा पनि खुसी भएका थिए, किनकि उनीहरू पनि त्यही चाहन्थे । उपयुक्त साइत निकालेर उसको बिहे सम्पन्न भयो । बिहे अघि उसले उसको श्रीमान्लाई देखेकै थिइन । बाबाले ‘काठमाडौँको जोरपाटीमा घर भएको र राम्रै घरानाको छोरो’ भनेकोले ऊ त्यही कुरामा विश्वास गरी विवाह बन्धनमा बाँधिएकी थिई । नभन्दै उसको दुलाहाको आर्थिक अवस्था ठिकठिकै खालको रहेछ । बिहेपछिका सुरूका दिनहरू ठिकैसँगै बिते पनि ।
बिहे भएको एक वर्ष नपुग्दै ठूली छोराकी आमा बनी र अर्को वर्ष पुनः अर्को छोराकी आमा बनी । बिहे गरेको दुई वर्षमा दुई सन्तानकी आमा बनेपछि ठूलीमा जिम्मेवारी पनि बढ्दै गयो । उता उसको लोग्ने भने गलत सङ्गतमा परी बिग्रन थाल्यो । जुवा तास खेल्नु, रक्सी खानु र राती अबेर घर आई झगडा गर्नु उसको दैनिकी बन्न थाल्यो । ऊ रक्सीले टिल्ल भई अबेर राती घरमा आएर श्रीमतीसँग झगडा गथ्र्यो । गाउँटोल नै थर्काउने गरी होहल्ला गर्दथ्यो ।
बाबुको यस्तो व्यवहारले साना छोराहरूको बाल मस्तिष्कमा नकारात्मक असर पर्न थाल्यो । उनीहरूले आफ्ना बाबुको हार्दिकतापूर्ण बात्सल्यता त पाउन सकेका थिएनन् नै, घरमा बालसुलभ वातावरण पनि पाउन सकेनन् । ठूलीको आफ्नै शरीर पनि उचित खानपिन र स्याहार नपाएर कमजोर बन्दै थियो अनि लोग्नेका कारण घरको आर्थिक अवस्था पनि क्रमशः नाजुक बन्दै थियो । ठूलीलाई आफ्नो शरीरको भन्दा नाबालक छोराहरू र दुर्घटना हुन लागेको घरको बढी चिन्ता थियो । जति सम्झाए पनि उसका लोग्नेको आचरणमा सुधार नआएपछि ऊ सँधै चिन्ताग्रस्त देखिन्थी । चिन्तैचिन्ताले ऊ उमेरभन्दा धेरै बूढी जस्ती देखिन थालेकी थिई ।
एकदिन ठूलो छोरो रामुले स्कुलबाट फर्केर झोला पनि नराखी हतास र निराश हुँदै भन्यो ‘आमा, बाबाले हाम्रो स्कुलको फी पनि तिरिदिएको छैन रहेछ । सरले स्कुलको ‘फी’ नलिई नआउनु भन्नुभएको छ । अब के गर्ने ?’
रामुको ‘अब के गर्ने’ भन्ने प्रश्नको उत्तर दिन ठूलीलाई सजिलो थिएन । अनायसै उसका आँखाहरू रसाए । उसलाई आफ्नो अवस्था देखेर डाँको छोडेर रुन मन लागेको थियो तर साना छोराहरूका अगाडि त्यसो गर्न पनि सकिन । उसले छोराहरूलाई सम्झाई ‘बाबु हो, तिमीहरू चिन्ता नगर । तिमीहरूको स्कुलको फी म जसरी भए पनि तिरिदिन्छु, तिमीहरूले धेरै पढ्नु पर्छ । मैले धेरै पढ्न नसकेर दुःख पाएँ, त्यसैले म तिमीहरूलाई धेरै पढाउँछु र ठूलो मान्छे बनाउँछु ।’ छोराहरूले ठूलीका कुरा सबै त बुझेनन् तर स्कुल छोड्नु नपर्ने कुरा बुझेर चाहिँ ढुक्क भए ।
ठूलीको जिम्मेवारी बढ्यो । छोराहरूको स्कुलको फी जुटाउन उसले अतिरिक्त काम गर्नु पर्ने भयो । उसले घरधन्धा भ्याएर नजिकैको गार्भेन्टमा गई ऊन काड्ने काम गर्न थाली । त्यस कार्यबाट अलिकति आम्दानी त हुनथाल्यो तर त्यतिले मात्र प¥याप्त हुँदैनथ्यो । तर नहुनुभन्दा कानो मामा निको भन्ने ठानी काम गर्दै रही । यसरी दुःख गरी संचित गरेको रकम पनि कहिलेकाहीँ लोग्नेले लगेर रक्सी खाइदिन्थ्यो । यस्तो अवस्थामा भने ऊ छोराहरूले नदेख्ने ठाउँमा गएर बेस्सरी रुने गर्थी । आफ्नो भाग्यलाई दुत्कार्थी । तर आफूले जति दुःख भोग्नु परे पनि माइतीमा आफ्ना बाबाआमालाई घरका कुरा भनेर उनीहरूलाई अझ दुःखी बनाउन चाहिन । न उसले कहिल्यै सहयोगको लागि हात नै पसारी ।
जसोतसो समय बित्तै जान्छ ।ठूलीले एकदिन माइतमा आमा सिकिस्त भएको खबर पाउँछे । ऊ छटपटिन्छे । आमालाई हेर्न जान मन लाग्छ तर जाने आउने गाडी भाडा पनि उसँग हुँदैन । काठमाडौँबाट गोरखा जान आउन पनि निक्कै पैसा लाग्थ्यो । बिमारी आमालाई भेट्न केही कोसेली पनि लिएर जानै पथ्र्यो । के गर्ने होला ? केही समय सोचविचार गरी उसले आमा भेट्न जाने नै निर्णय गरी । गार्भेन्टमा नै सँगै काम गर्ने एकजना साथीसँग केही रकम सापटी मागेर ऊ माइत गोरखाका लागि प्रस्थान गरी ।
ठूली माइत पुगेको एक हप्तामा नै आमाको निधन भयो । उसले आमाको मुख हेर्न मात्र पाई । उसमाथि दुःखको पहाड नै बज्रियो । माइतीबाट कुनै आर्थिक सहयोग नपाए पनि ठूलीलाई आमा त हुनुहुन्छ भन्ने थियो तर अब त त्यो भरोसा राख्ने ठाउँ पनि रहेन । आमा खस्ने बित्तिकै भाइ तथा बुहारीबाट उसले रुखो व्यवहारको सामना गर्नु प-यो । आमा नरहेपछि उसलाई माइत पनि माइतजस्तो भएन । आमाको काम सकेर ऊ काठमाडौँ नै फर्की । भाइ तथा बुहारीले औपचारिकताकै लागि भए पनि ‘केही दिन बसौँ न दिदी’ सम्म भनेनन् । हिड्ने बेलामा चेलीबेटीका हातमा गाडी भाडासम्म हालिदिएनन् । बाबा लाचार देखिनुभयो । ठूलीले सोची– उसको जन्मघर आउने बाटो अब सदाका लागि बन्द भयो । आमा नभएपछि चेलीबेटीका लागि अरू सम्बन्धहरू साइनोमा मात्र सीमित हुँदारहेछन् ।
माइतबाट फर्केर काठमाडौँको जोरपाटीस्थित आफ्नो घरमा पुगेपछि उसको मन अझ बिग्रियो । उसका दुई नाबालक छोराहरू टुहुरा झैँ देखिन्थे । कति दिनदेखि बिमारी भएर उठेजस्ता छोराहरूलाई देखेर उसको मन कुँडिएर आयो । लामो समयपछि आमालाई देखेर छोराहरू खुसीले रुन थाले । उसका छोराहरूले घरमा बाबु भए वा नभएको आभास नै पाएनछन् । बाबु राती आउने अनि बिहानै उठेर हिँड्ने, छोराहरूको मतलब नै नगर्ने । छोराहरूको स्कुल पनि छुटिसकेको रहेछ । ऊ भावविह्वल भई । ठूली त्यतिबेला अझ धेरै बिचलित भई जब उसले उसकोे लाग्नेले आफू बसेको घरजग्गाको धनीपूर्जासमेत बन्धकी राखी लिएको रकम पनि रक्सी र तासमा सकेको जानकारी पाई ।
उसले आँखा अगाडि अँध्यारो अँध्यारो मात्र देखी । उसले न माइतको सहारा पाई न त लोग्नेको । न त उसको वर्तमान सुरक्षित देखी न भविष्य नै । उसले आफूलाई सबैतिरबाट उपेक्षित र बेसहारा भएको महसुस गरी । अन्ततः उसले एउटा कठोर निर्णय गर्ने अठोट गरी ।
बेलुकाको खाना खाएर ठूली छोराहरूलाई ‘बस्तै गर है, म एकछिनमा आउँछु’ भनेर बाहिर निस्की र निक्कैबेर पछि मात्र ऊ घरमा फर्की । फकिँदा उसले तीनबटा लड्डु लिएर आएकी थिई । लड्डु देखेर छोराहरू पनि खुसीले दङ्ग भए । ठूलीले ‘कति दुखी हुने बाबु हो, आज सबैले लड्डु खाएर खुसी मनाउनु पर्छ’ भनी अनि उसले दुबै छोराहरूलाई स्नेहपूर्वक एउटा एउटा लड्डु खान दिई र अन्त्यमा आफूले पनि एउटा लड्डु खाएर छोराहरूसँगै ओछ्यानमा पल्टी ।
भोलिपल्ट कान्तिपुरमा एउटा सनसनीपूर्ण समाचार छापियो ‘जोरपाटी नजिकै दुई साना छोरासहित आमाले बिष खाई आत्महत्या’ र समाचार शीर्षक मुनिको फोटोमा एउटी अधबैँसे महिलाले दुई साना छोरालाई अँगालो हालेर घोप्टो परेर चिर निद्रामा निदाइरहेको अवस्थामा देखाइएको थियो ।
कान्तिपुरको यस समाचारलाई विभिन्न अनलाइनहरूले पनि साभार गरिरहेका थिए तर शीर्षक फरक राखेर । जस्तै, ‘एउटी क्रुर आमाले आफ्ना दुई बालक छोरासहित गरिन् आत्महत्या’, ‘आफ्नो दुष्चरित्र लुकाउन छोरासहित आत्महत्या गर्ने आमा’, ‘परपुरूषसँग अबैद्य सम्बन्ध राख्ने श्रीमतीसहित् छोराहरूको हत्या’ आदि आदि ।
तर, ठूलीले छोराहरूसहित आत्महत्या गर्नु पछाडिको गहिराइसम्म पुग्ने कष्ट कसैले गरेनन् ।
२०७२/११/१५
