नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ साउन ।


राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार अपराह्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेर कक्षा १२ को नतिजा सार्वजनिक गरिएको हो ।
बोर्डले सबै काम सकेर प्राविधिक काम पनि सकिएको हुनाले सोमबार नतिजा सार्वजनिक गरेको हो । बोर्डले गत वैशाख २१ गतेदेखि सुरु भएको परीक्षामा पाँच लाख ११ हजार ५२५ विद्यार्थीले परीक्षा दिएका थिए । ।
यो वर्ष ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै ३८.८३ प्रतिशत विद्यार्थीले नन ग्रेडेड (एनजी) ल्याएका छन् । परीक्षाका क्रममा अमर्यादित गतिविधिमा संलग्न भएका कारण कुल १७ जनाको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ। तीमध्ये नियमित तर्फ ११ र आंशिक तर्फ ६ जनाको परीक्षा रद्द गरिएको हो ।
प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अङ्क प्राप्त गरे मात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था गरिएको छ । लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा एनजी हुन्छ त्यही विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । यसअघि दुईभन्दा बढी विषयमा एनजी आए अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो ।
बोर्डले कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले आगामी भदौ २८ र २९ गते ग्रेड वृद्धि परीक्षा हुने जानकारी गराउनुभयो ।
परीक्षाफल परीक्षा बोर्डको वेभसाइट, https://neb.ntc.net.np लगइन गरेर सिम्बोल नं र जन्ममिति टाइप गरेर हेर्न सकिन्छ भने NEB टाइप गरेर एक स्पेस छोडेर सिम्बोल नं टाइप गरेर १६०० मा पठाउन सकिन्छ । त्यसैगरी आईभिआरका लागि १६०१ डाइल गर्नुपर्ने हुन्छ ।
