सिङ्गापुर : एउटै नेताको नेतृत्वमा बनेको देश

विश्वमा केही यस्ता नेताहरू पनि छन् जसले आफ्नो प्रतिभा, नेतृत्व र दूरदृष्टिका कारण आफ्नो देशलाई उल्लेखनीय रूपमा समृद्ध बनाउन सफल भए । कुनै पनि देश निर्माण गर्ने कुरा एउटा व्यक्तिको लहड वा रहरले मात्र किमार्थ सम्भव हुने कुरा होइन । सफलताको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको मूल्याङ्कन गरी मुलुकको वस्तुपरक यथार्थ बुझेर सही निर्णय गर्ने क्षमता, काम गर्ने कुशल टिम र जनताको साथ र समर्थन पनि चाहिन्छ । यद्यपि नेतृत्व गर्न नेताहरूको राष्ट्रवादी सोच, समृद्धिको अर्जुनदृष्टि, सुस्पष्ठ मार्गचित्र, कामप्रतिको भगीरथ प्रयास र उच्च नैतिक बलको निर्णायक भूमिका रहेको हुन्छ ।

ली क्वान यु (सिङ्गापुर), मुस्ताफा कमाल अतातुक (टर्की), फ्राङ्कलिन डी. रुजवेल्ट (अमेरिका), नेल्सन मण्डेला (दक्षिण अफ्रिका) तथा मेहाथिर मोहम्मद (मलेसिया) आदि यस्ता केही प्रतिनिधि नामहरू हुन् जसले आ–आफ्नो मुलुकको कुसल नेतृत्व मात्र गरेनन्, मुलुकलाई समृद्धिको एउटा उचाइमा पुर्याउन पर्याप्त योगदान दिए र इतिहासमा अमर बने ।

ली क्वान यु – सिङ्गापुर (सन् १९५९–१९९०)
सिङ्गापुरको नाम लिनेबित्तिकै ली क्वान युको नाम पनि सँगै जोडिएर आउँछ । उनले सन् १९६० सम्म संसारका गरिब मुलुकहरूको सूचीमा पर्ने सिङ्गापुरलाई संसारकै समृद्ध र वैभवशाली राष्ट्र बनाइदिए । शासकमा दृढ इच्छाशक्ति र विकासको स्पष्ट मार्गचित्र भए असम्भव केही छैन भन्ने कुरालाई लीले प्रमाणित गरेर देखाइदिए । सिङ्गापुरलाई आधुनिक विकासको एउटा सुन्दर नमुना मानिन्छ । तर, सिङ्गापुर रातारात बनेका चाहिँ पक्कै होइन ।

सिङ्गापुर साना ठूला टापुहरू मिलेर बनेको संसारकै एक सुन्दर, रमणीय र पर्यटकीय दृष्टिले एकपल्ट पुग्नै पर्ने मुलुकमा पर्दछ । तर सन् १९६० भन्दा अगाडिसम्म यो मुलुकमा नागरिकलाई बस्नका लागि घरसमेत थिएन । यो एउटा झोपडपट्टी जस्तो थियो र यसको नियन्त्रण विभिन्न ग्याङहरूल्ऽे गर्ने गर्थे । यहाँ न राम्रा शैक्षिक प्रतिष्ठानहरू थिए न त शिक्षित व्यक्तिहरू नै । सिङ्गापुरको आफ्नो गर्व गर्न लायकको प्राकृतिक स्रोत–साधन केही पनि थिएन । यहाँ खेतीयोग्य जमिनसमेत थिएन । दैनिक खानेकुरादेखि सबै कुरामा छिमेकी मुलुक मलेसियासँग भर पर्नुपर्दथ्यो ।

समस्याग्रस्त सिङ्गापुर आज विश्वकै समृद्धशाली र चर्चित देश बन्न पुगेको छ । अहिले सिङ्गापुरमा न गुण्डागर्दी छ, न बेरोजगारी र भ्रष्टाचार नै । बरू सिङ्गापुर अहिले संसारकै ठूलो व्यापारिक केन्द्र, भव्य क्यासिनो रिसोर्टहरू, नमुना अन्तर्राष्ट्रिय विमानस्थल र प्रख्यात बन्दरगाहका कारणबाट चिनिन्छ ।

अहिले सिङ्गापुर विश्वमा नवौं र एशियामा चौथो ठूलो अर्थतन्त्र भएको मुलुक बनेको छ । आज धेरै अल्पविकसित देशहरू आफ्नो देश पनि सिङ्गापुर जस्तै बनाउने उदाहरण दिन्छन् तर काम भने त्यसअनुसार गर्ने सामथ्र्य राख्तैनन् ।

सिङ्गापुरको राजनीतिक गतिविधि र लीको योगदान :

लीले सन् १९५४ मा पिपल्स एक्सन पार्टी (पीएपी) को स्थापना गरे र उनी त्यस पार्टीको महासचिव बने । उनी पीएपीको महासचिवका रूपमा लगभग ४० वर्षसम्म रहे । सन् १९५९ मे ३० मा भएको राष्ट्रिय चुनावमा पीएपीले बहुमत ल्याउन सफल भयो अर्थात विधानसभाका ५१ सिटमध्ये पीएपीले ४३ सिट जित्न गर्न सफल भयो । सन् १९५९ जुन ३ का दिन ली क्वान यु सिङ्गापुरका प्रथम प्रधानमन्त्री बने । ली बहुमत सरकारको प्रधानमन्त्री बनेको ४ वर्षपछि अर्थात् ३१ अगष्ट १९६३ मा सिङ्गापुरबाट बेलायतको उपनिवेशको अन्त्य गरियो । र, सिङ्गापुर एक स्वतन्त्र राष्ट्र बन्न पुग्यो ।

यो भारत बेलायतबाट स्वतन्त्र भएको १८ वर्षपछिको समय थियो । त्यसताका नेपालमा भने पञ्चायती व्यवस्था आरम्भ भएको तीन वर्ष भएको थियो ।

सिङ्गापुर स्वतन्त्र बन्यो तर यो देश आर्थिक, सामाजिक, राजनीतिक तथा अन्य हरेक दृष्टिे कमजोर थियो र सबै कुरा छिमेकी मुलुक मलेसियाको भर पर्नुपर्दथ्र्यो । अतः सिङ्गापुर स्वतन्त्र भएर पनि स्वतन्त्र अवस्थामा रहन नसक्ने अवस्था सिर्जना भएपछि सिङ्गापुरका नेताहरू सिङ्गापुरलाई मलेसियामा विलय गराउन सहमत भए । यसरी सन् १९६३ सेप्टेम्बर १६ मा सिङ्गापुरलाई मलेसियामा विलय गराइयोे ।

सिङ्गापुर मलेसियामा विलय गराइए पनि धेरै समय टिक्न सकेन । जातीय द्वन्द्व र वैचारिक बेमलले हिंसात्मक रूप लिएपछि सन् १९६५ अगष्ट ९ मा सिङ्गापुर मलेसियाबाट छुट्टिएर पुनः स्वतन्त्र र स्वाधीन राष्ट्र बन्यो ।

मलेसियाबाट अलग भएर पनि सिङ्गापुरले मलेसियासित व्यवसायिक र सैन्य सम्बन्धलाई कायम बनाइराख्यो । त्यसताका सिङ्गापुर परनिर्भर देश थियो । सबै कुरामा परनिर्भर भएको मुलुकलाई सही दिशाबोध गराउँदै अग्रगति प्रदान गर्न प्रधानमन्त्री लीका लागि सहज विषय थिएन ।

लीको कठोर निर्णय :
नेताको वास्तविक परीक्षा नै मुलुक सङ्कटमा परेको बेला हुने हो । यो कुराबाट ली अनभिज्ञ थिएनन् । अनि उनले सिङ्गापुरलाई अरूभन्दा भिन्न, आधुनिक र विशिष्ट देश बनाउने निर्णय गरे र उनले त्यसै अनुरूपको एक गुरुयोजना बनाए । त्यस गुरुयोजनाका माध्यमबाट उनी सिङ्गापुरलाई कायापलट गर्न चाहन्थे ।

त्यसका लागि लीले देशका हरेक मुद्दाहरूलाई नियन्त्रणमा राख्ने निश्चय गरे । उनले आफ्ना कटु आलोचकहरूलाई जेलमा हाले । सञ्चारमाध्यमहरू तथा विदेशी प्रकाशनमा प्रतिबन्ध लगाए । कतिपय पत्रकारहरूलाई समेत गिरफ्तार गरे ।

ली ठान्दथे– विकासको मार्गमा गतिशील देशले केही स्वतन्त्रताको बलिदान दिनुपर्छ । उनले आफ्नो गुरुयोजनामा बाधक हुनसक्ने ठानेका सबैमा दमनकारी नीति अख्तियार गरे र आफूलाई आफ्नो सपना साकार पार्न क्रियाशील र गतिशील बनाइराखे ।

उनका कतिपय दमनकारी नीतिको आलोचना नभएको होइन, तर पनि उनी आलोचनाका डरले पछि फर्केनन् । यसैको परिणम्स्वरूप सन् १९६० मा दरिद्र रूपमा रहेको सिङ्गापुरले १९८० सम्म पुग्दा प्रतिव्यक्ति आयमा १५ गुणाले वृद्धि गर्न सफल भयो । सन् १९६५ मा प्रतिव्यक्ति आय ५०० डलर भएकोमा सन् २०१९ मा पुग्दा बढेर प्रतिव्यक्ति ६५ हजार २२७ डलर हुन पुग्यो । आइएमएफको अनुमानित तथ्याङ्क अनुसार अहिले सिङ्गापुरको प्रतिव्यक्ति आम्दानी ९२,९३२ डलर छ ।

मुलुकको समृद्धिको मार्गमा भ्रष्टाचार ठूलो बाधक हो भन्ने कुरामा ली स्पष्ठ थिए, अतः उनले सिङ्गापुरमा फैलिएको भ्रष्टाचारलाई खत्तम पार्ने सङ्कल्प गरे । भ्रष्टाचारविरुद्ध कडा कानुन बनाए । उनले बेरोजगारलाई रोजगारी उपलब्ध गराउन कम लागतमा आवास योजना तथा औद्योगिक कार्यक्रम आरम्भ गरे । उनले सिङ्गापुरलाई बहुसंस्कृतिवादमा आधारित एक अलग राष्ट्रको पहिचान बनाउने प्रयास गरे र अन्ततः सफल पनि भए ।

लीले मुलुकको परिवर्तनका लागि ठूला कुरामा मात्र होइन, ससाना कुरामा पनि ध्यान दिए । जनसंख्यालाई नियन्त्रण गर्न परिवार नियोजनको अभियानलाई प्रोत्साहन गरे । दुईभन्दा बढी सन्तान जन्माउनेलाई कर बढाइदिए । युवाशक्तिलाई प्रोत्साहन गरे । शिक्षालाई अनिवार्य र हरेक तहका जनताको पहुँचमा पुर्याउने नीति लिए ।

ली सन् १९५९ देखि १९९० सम्म प्रधानमन्त्री रहे । उनी विश्वमा नै लामो समयसम्म प्रधानमन्त्री हुने व्यक्तिमा गनिन्छन् । तर उनी लामो समय प्रधानमन्त्री हुने व्यक्तिको रूपमा भन्दा पनि आधुनिक सिङ्गापुरका निर्माता र आधुनिक सिङ्गापुरका एकल परिकल्पनाकारका रूपमा बढी चिनिन्छन् ।

भनिन्छ, लीले सिङ्गापुरलाई समृद्धिको उचाइमा पुर्याउन तीन कुरालाई सैद्धान्तिक आधार मानेका थिए । पहिलो, म्यारिट अर्थात व्यक्तिको योग्यताका आधारमा योग्य व्यक्तिको छनौट गर्नु । दोस्रो, मुलुकमा लगानीका लागि सहज, सरल र व्यवहारिक वातावरण बनाउनु र तेस्रो, इमानदारी र अनुशासनलाई कठोरतापूर्वक पालना गर्नु । यसैको परिणाम्स्वरूप सिङ्गापुर आज संसारकै उदाहरणीय मुलुक बन्न पुगेको छ ।
क्रमशः

सम्बन्धित समाचार