नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ साउन ।


प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले समिति सभापतिको पदबाट राजीनामा दिनुभएको छ ।
सभाको मंगलबारको बैठकमा समय माग गरेर बोल्दै उहाँले सभापतिका रूपमा सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा आफूले हस्ताक्षर गरेको र सो विधेयकका केही विषयमा त्रुटि भएकाले आफूले नैतिक जिम्मेवारी बहन गर्नुपर्ने लागेर राजीनामा दिएको स्पष्ट पार्नुभयो ।
“समितिका सदस्यको मनसायअनुसार विधेयक प्रतिवेदन तयार हुँदा त्रुटि हुन गएको साँचो हो, विधायकी मनसाय ‘कुलिङ अफ पिरियड’ राख्नु नै हो, तर विधेयक प्रतिवेदन लेखनमा त्रुटि भएको देखिन्छ”, उहाँले भन्नुभयो, “त्यो त्रुटि मबाट र राज्य व्यवस्था समितिबाट होइन ।”
यद्यपि समितिको प्रतिवेदनमा आफूलाई राजीनामा दिन सिफारिस नगरेको तथा कारबाहीको सिफारिस नगरे पनि आफूले हाँसी खुसी राजीनामा दिएको बताउनुभयो । आफूलाई कारबाहीको सिफारिस समेत नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘ प्रतिवेदनमा जिम्मेवारी भन्ने शब्द प्रयोग गरिएको हुँदा म जिम्मेवारी बोध गर्दै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट आज हाँसीहाासी राजीनामा दिएको घोषणा गर्दछु ।’
