अङ्ग प्रत्यारोपणका नीति नियमलाई खुकुलो बनाउन आवश्यक छ : स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मागअनुसारको आवश्यकतालाई वृद्धि गर्न अङ्ग प्रत्यारोपणका नीति नियमलाई खुकुलो बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

विश्व अङ्गदान दिवसका अवसरमा बुधबार सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा उहाँले नेपालमा आवश्यकताको २० प्रतिशत पनि अङ्गदान हुन नसकेकाले नीतिनियमलाई खुकुलो बनाउन आवश्यक रहेको बताउनुभयो ।

स्वास्थ्यमन्त्री पौडेलले भन्नुभयो, “बिमासँग विपन्नवर्ग जोडियो भने प्रत्यारोपण सुविधा रु नौ लाखसम्म पुग्छ । त्यसैले बिमामार्फत जटिल रोगको उपचारमा राज्यले सुविधा थप्दै जाने र अङ्गदान गर्नेलाई निःशुल्क बिमा गर्ने व्यवस्था आवश्यक छ । यसका लागि लागिरहेका छौँ ।”

अङ्ग प्रत्यारोपणको छुट्टै प्रतिष्ठान बनाउनुपर्ने आवश्यकता रहेको औँल्याउँदै उहाँले सबै सङ्घीय अस्पतालको क्षमता तीनगुणा बढाएर सबैलाई कम्तीमा ५०० श्यया बनाउनुपर्ने र दक्ष जनशक्ति, उपकरण एवं पूर्वाधारको व्यवस्था गर्ने प्रयास गरिरहेको बताउनुभयो ।

क्यान्सरकोसमेत छुट्टै प्रतिष्ठान बनाउनुपर्छ भन्दै मन्त्री पौडेलले विभिन्न अस्पतालमा क्यान्सर परीक्षणका लागि आवश्यकपर्ने पेट सिटीस्क्यान मेसिन विस्तार गर्दै लगिने बताउनुभयो ।

मन्त्री पौडेलले जनस्वास्थ्य नियमावलीमा टेकेर आइभिएफको निर्देशिका जारी हुुन लागेको बताउँदै भारतमा खुलेआम अङ्ग बेचबिखन भएपछि भारतले कडाइ गरेको अवस्थामा नेपालमा पनि अङ्गदानका क्षेत्रमा चेतना विस्तार गर्नुपर्ने आवश्यकता भएको बताउनुभयो ।

मन्त्री पौडेलले मस्तिष्क मृत्युपछि गरिने अंगदानलाई प्रोत्साहन गर्न खोजिरहेको बताउँदै अंगदानले धेरैको ज्यान बचाउन सघाउ पु¥याउने हुँदा यसबारे जनतालाई सचेत बनाउनुपर्ने बताउनुभयो ।

प्रत्यारोपण सेवालाई सातवटै प्रदेशमा विस्तार गर्ने योजना रहेको बताउँदै उहाँले विशिष्टिकृत उपचारलाई काठमाडौँ उपत्यका बाहिर विस्तार गर्दै लाने नीति मन्त्रालयले लिएको बताउनुभयो ।

कार्यक्रममा नेमकिपाका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले भक्तपुर अस्पताल, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा अगाडि सार्नुपर्ने बताउनुभयो ।

प्रतिनिधिसभाका सांसद दुर्लभ थापाले भक्तपुरको प्रत्यारोपण केन्द्रमा बिरामीको चाप बढेसँगै श्यया अभाव र सेवा विस्तारले ठाउँ अभाव भएको हुँदा अस्पताललाई उपयुक्त ठाउँमा स्थानान्तरण गर्नुपर्ने बताउनुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले मस्तिष्क मृत्युपश्चात् हुने अङ्गदान र प्रत्यारोपण गर्ने ऐतिहासिक कार्यको सुरूआत हुनु नै स्वास्थ्य क्षेत्रका लागि ठूलो उपलब्धि भएको बताउँदै नेपालमै मिर्गाैला र कलेजो प्रत्यारोपणले राज्यको अर्बौं रूपैयाँ विदेशिनबाट जोगिएको बताउनुभयो ।

अस्पतालका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले नेपालमा कलेजो र मिर्गाैला प्रत्यारोपण सेवाको सुरूआत भएसँगै बिरामीलाई आर्थिक तथा मानसिक रूपमा धेरै सहज भएको बताउँदै प्रत्यारोपण सेवालाई सातै प्रदेशमा विस्तार गर्ने लक्ष्य अस्पतालको रहेको बताउनुभयो ।

कार्यक्रममा प्रत्यारोपणकाका संयोजक डा कल्पनाकुमारी श्रेष्ठ, मस्तिष्क मृत्युबाट प्राप्त व्यक्तिको अङ्गदानबाट नयाँ जीवन पाएका शिव महर्जनले अङ्गदान र जीवनबारे अनुभव सुनाउनुभएको थियो ।

सम्बन्धित समाचार