सवारी दुर्घटनामा चार जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । तनहुँको बन्दिपुर गाउँपालिका-४ ठुलढुङ्गास्थित सडकमा ग.१ ख ७३२९ नम्बरको बस र बा.०१-००६ ख ६५०३ नम्बरको इभी गाडी एकआपसमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा ईभि चालक धादिङ निलकण्ठ नगरपालिका-१४ बस्ने ३३ वर्षीय रमेश अवस्थीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सिएमसी अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बस तथा इभीमा सवार मध्ये ८ जनाको सिएमसी अस्पताल चितवनमा, ३ जनाको मणिपाल अस्पताल पोखरा र १ जनाको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको छ ।

त्यस्तै नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिका-८ फुलबारीस्थित सडकमा बा.प्र.०६-००१ क ०४४४ नम्बरको मिनिट्रक र बा.७६ प २७१७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगपालिका-१ बस्ने ३५ वर्षीय राज कुमार बोहराको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । यस्तै मोरङको पथरी शनिश्चरे नगरपालिका-१ स्थित सडकमा को.१ क ९७५१ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिलाको बिहीबार बेलुकी मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो । उता सर्लाहीको चक्रघट्टा गाउँपालिका-५ पडरियास्थित सडकमा बीआर ३० एजी ५०३६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६० वर्षीय बरन बैठाको बिहीबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रमममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र अन्य १ जना पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार