नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ साउन ।


देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । नवलपरासी पूर्वको कावासोती नगरपालिका-१६ कुमारी टोलस्थित सडकमा कुमारी टोलबाट सातघरेतर्फ जाँदै गरेको ग. ७ प ९५९९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय रूकमान परियारको शुक्रबार बेलुकी मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै मोरङ, बुढीगंगा गाउँपालिका-३ स्थित सडकमा नेमुवाबाट विराटनगरतर्फ जाँदै गरेको को.२१ प ८६९२ नम्बरको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार विराटनगर महानगरपालिका-४ बस्ने ४२ वर्षीय कात्तिक विश्वासको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई उपचारको लागि विराट टिचिङ अस्पताल गंगा चोक पठाइएको छ । यसैगरी मोरङको बुढीगंगा गाउँपालिका-२ अमाही बोक्ला टोलस्थित सडकमा नेमुवाबाट अमाहीतर्फ जाँदै गरेको को.३५ प ५०३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३५ वर्षीय विकास कुमार भगतको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पताल गंगा चोकमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै सुनसरीको रामधुनी नगरपालिका-८ डुम्राहास्थित सडकमा ईनरूवाबाट डुम्राहातर्फ जाँदै गरेको को.३८ प १६३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २१ वर्षीय आनन्द सिंह खवासको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका विराट मेडिकल कलेज टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
