सवारी दुर्घटनामा तीन जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मोरङको मिक्लाजुङ गाउँपालिका-३ टाँडी रमितेस्थित सडकमा मे.२ प ९०९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा चालक उर्लाबारी नगरपालिका-४ बस्ने १७ वर्षीय आरब डाँगीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै सिराहाको लहान नगरपालिका-१९ छरापट्टीस्थित सडकमा बीआर ३२ एसी ४१२९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-२३ गढीया बस्ने ५५ वर्षीय लखन मोतीको शनिबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । यस्तै रूपन्देही बुटवल उपमहानगरपालिका-१३ जितगढीस्थित सडकमा लु.१ ज ४४६६ नम्बरको बलेरोले लु. १५ प ३४ नम्बरको मोटरसाइकलाई शनिबार राति ठक्कर दिँदा मोटरसाइकल चालक अर्घाखाँची सन्धिखर्क नगरपालिका-४ वाग्ला बस्ने ३१ वर्षीय खुमा भुसालको मृत्यु भएको छ ।

दुर्घटना गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको एडमसिटी अस्पतात बुटवलमा उपचार भइरहेको छ । हाल फरार बलेरो चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार