मेरो प्रातः स्मरणीय पिता

नमेटिने सम्झना
समय जति बित्यो, सम्झना साउने झरी सरी
आँगनदेखि चोटासम्म आउँ आवाज घरीघरी
सुनसान भयो घर, शून्य यो आँगन
बुझाउनै गाह्रो छ विह्वल यो मन ।

सानो सानो कुरामा चासो गम्भीर
आज हुनुहुन्न तर देख्छु चारैतिर
बुझ्दैछु आज कति मूल्यवान
गुमेपछि अरु थाहा भो यहाँको योगदान ।

न घाम, न वर्षा, न दिन अनि रात
अथक परिश्रम हाम्रै लागि गर्नुभयो दिनरात
सच्चा तर कठोरपन यहाँको विशेषता
खै अब कसले पो भन्ला मलाई हो कता ।

सधैँ सरल मन बोकेर
हिँडिरहनुहुन्थ्यो हामी नै सोचेर
न देख्नुभयो ठूलो सपना नै
न त अभावमा गुनासो नै ।

सामान्य थियो जीवन, असामान्य साहस
दिनुभयो सानो कुरामा अपार ढडास
आज ती यादहरूले घोचिरहन्छ हरपल
तपाई नहुँदाको रित्तोपन सताइरहन्छ पलपल ।

तपाई जानुभो अनन्त यात्रामा
तर संगालिरहेछु तस्वीर मनको भित्री कुनामा
तपाइले दिएको जीवनको पाठ
सधैं रहनेछ मेरो साथ ।

हार्दिक श्रद्धाञ्जली बा !

सम्बन्धित समाचार