

झापा र मोरङमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका-३ केराधापस्थित सडकमा केम्पाबाट केर्खातर्फ आउँदै गरेको प्रदेश.१-०१-०१६ प ५१०५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ८८ वर्षीय टिकाराम श्रेष्ठको शुक्रबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डसि अस्पताल बिर्तामोडमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै मोरङको ग्रामथान गाउँपालिका-७ धोबीयारेस्थित सडकमा नेताचोकबाट धोबीयारेतर्फ जाँदै गरेको को.२ ह ६२६९ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना हुँदा अटोमा सवार सोही ठाउँ बस्ने ४५ वर्षीय ओसर विश्वासको मृत्यु भएको छ ।
शुक्रबार बेलुकी भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

