

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका-२ नारायणी पुलमा ना.१ क ५१९९ नम्बरको ट्रकले ना. ४३ प ८७ नम्बरको मोटरसाइकललाई आइतबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-४ बस्ने रौतहट चन्द्रनिगाहापुर नगरपालिका-२ घर भएका २३ वर्षीय मुनाल दाहालको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै मोरङको विराटनगर महानगरपालिका-१४ आईसिपि रोडस्थित सडकमा विराटनगरबाट नयाँ भन्सारतर्फ जाँदै गरेको साइकल अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा चालक जहदा गाउँपालिका-३ बस्ने ४१ वर्षीय रूपेश कुमार राजवंशीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यसैगरी मोरङको बेलबारी नगरपालिका-१ सिसौली चोकस्थित सडकमा प्र.१-०२-००४ ह १०२२ नम्बरको सिटी सफारीको ठक्करबाट सोही ठाउँ बस्ने ५० वर्षीय टिकामाया श्रेष्ठको मृत्यु भएको छ ।
सिटी सफारीले शनिबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा आइतबार साँझ मृत्यु भएको हो । सिटी सफारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै दाङको गढवा गाउँपालिका-३ धैरेनीस्थित रा. १ ह ५९२३ नम्बरको अटोलाई हाल नम्बर नखुलेको ट्याक्टरले ठक्कर दिँदा अटोमा सवार सोही ठाउँ बस्ने ५५ बल बहादुर थापाको आइतबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको सिसहनिया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार अन्य दुई जनालाई थप उपचारक लागि लुम्बिनी सिटी अस्पताल बुटवल पठाइएको छ । हाल फरार ट्याक्टर र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यस्तै बाराको कलैया उपमहानगरपालिका-२३ सिसहनिया चोकस्थित सडकमा ना.१ ज १९४१ नम्बरको टाटा सुमोले बा. ५९ प ४०५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका-२३ बैराटपुर बस्ने ३४ वर्षीय उपेन्द्र राउत कुर्मीको गए राति मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पताल बारामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सुमो चालकको प्रहरीले खोजी गरिरहेको छ । उता बाँकेको नेपालगंज उपमहानगरपालिका-२० स्थित सडकमा बा.३ ख ९५२९ नम्बरको हाइस र लु. ९२ प ५४२५ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई गए राति दुर्घटना हुँदा स्कुटरमा सवार मकवानपुर हेटौंडा उपमहानगरपालिका-१८ हर्ना माडी बस्ने २९ वर्षीय सरोज मुक्तानको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार अन्य दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार हाइस चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
