नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ भदौ ।


काठमाडौं, कैलाली र नुवाकोटबाट जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ परेछ छन् । काठमाडौँ महानगरपालिका-१५ स्वयम्भू डेरा गरी बस्ने धादिङ घर भएकी ५५ वर्षीया सुन्तली तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ७ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २६ हजार ७ सय ७० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । त्यस्तै कैलालीको गोदावरी नगरपालिका-२ बसन्तपुर बस्ने ३५ वर्षीय राम साउदको टहरामा जुवातास खेलिरहेको अवस्थामा राम समेत २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३६ हजार रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । प्रहरीले हाल फरार अन्य ६ जनाको खोजी गरिरहेको छ । यस्तै नुवाकोटको शिवपुरी गाउँपालिका-६ गुर्जेस्थित बार्दली होटलमा जुवा (कौडा) खेलिरहेको अवस्थामा लिखु गाउँपालिका-५ डि चौघडा बस्ने ४० वर्षीय श्याम कृष्ण श्रेष्ठ समेत २२ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १० लाख ७१ हजार ६ सय रूपैयाँ र कौडा ३१ थान सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
