शुभम् इन्टरनेशनल अस्पताल सञ्चालन आरम्भ, प्रथम राष्ट्रपति डा. रामवरण यादवद्वारा उद्घाटन

तारेकेश्वर नगरपालिका–१० मा स्थापना गरिएको शुभम् इन्टरनेशनल अस्पताल विहीबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ।

दक्ष जनशक्ति सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा आएको यो अस्पतालको उद्घाटन नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले पानसमा दिप प्रज्वलन गरी गर्नुभयो।

कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री माननीय अर्जुननर्सिङ केसी, नुवाकोटका नेता जगदीश्वरनर्सिङ केसी, प्रदेश सांसद, तारेकेश्वर नगरपालिकाका नगरप्रमुख, वडाध्यक्ष, वरिष्ठ चिकित्सक तथा समाजका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिती थियो।

कार्यक्रममा अस्पतालका अध्यक्ष डा. केदारनर्सिङ केसीले अध्यक्षता गर्नुभएको थियो। प्रमुख अतिथि डा. यादवले शुभकामना व्यक्त गर्दै अस्पतालले प्रदान गर्ने सेवाहरू गुणस्तरीय र विश्वासिलो हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो। उहाँले स्वास्थ्य सेवा सर्वसुलभ बनाउन यस्ता अस्पतालहरूको योगदान महत्वपूर्ण हुने उल्लेख गर्नुभयो।

विशेष अतिथि पूर्व स्वास्थ्य मन्त्री अर्जुननर्सिङ केसीले अझै पनि स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार नआएको जनाउँदै देशमा अराजकता र दण्डहीनता मौलाइरहेको तर्फ ध्यानाकर्षण गराउनुभयो।

उहाँले “जबसम्म न्यायोचित काम हुँदैन, तबसम्म नागरिकले सरकारले अभिभावकत्व ग्रहण गरेको अनुभूति गर्न सक्दैनन्,” भन्दै शुभम् इन्टरनेशनल अस्पतालले सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा दिन सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।

त्यस्तै, नेता जगदीश्वरनर्सिङ केसीले अस्पतालको निरन्तर प्रगति र सफलताको शुभकामना व्यक्त गर्नुभयो।

सम्बन्धित समाचार