वन क्षेत्र र चुरे विनासका कारण मधेस मरुभूमि बन्दैछ : अध्यक्ष यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दैनिक रूपमा चुरे र यहाँको वन विनाशका कारण मधेस मरुभूमि भइरहेको बताउनुभएको छ ।

जसपा राजविराज नगर समितिका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमित सदस्यको शपथग्रहण तथा पदस्थापन कार्यक्रममा आइतबार उहाँले जलस्रोतको धनी देश नेपालमा पानीको अभाव हुनु दुर्भाग्यपूर्ण रहेको बताउनुभयो ।

चुरे विनाशका कारण हाल मधेसमा जलसङ्कट देखिएको बताउँदै अध्यक्ष यादवले सुकुम्वासी व्यवस्थापनका नाममा भूमि विधेयक ल्याएर सरकारले मधेसलाई थप समस्यामा पार्न खोजेको आरोप लगाउनुभयो ।

चुरे विनाशका कारण मधेसमा भूमिगत पानीको सतह समाप्त हुँदै गएको, भूमि विधेयकले थप विनाश बढाउने र मधेस  मरुभूमिमा परिणत हुने उहाँको जिकिर थियो ।

अन्तरराष्ट्रिय संस्थाहरूले धेरै पहिले नै चुरे संरक्षण नगरे पानीको सङ्कट आउने भनी सचेत गराएको स्मरण गर्दै अध्यक्ष यादवले त्यसमा सचेत नहुँदा हाल जमिन सुक्खा भएर सङ्कट उत्पन्न भएको धारणा राख्नुभयो ।

सम्बन्धित समाचार