नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ भदौ ।


देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ पानी ट्याङकीस्थित सडकमा बा.९० प ६७९४ नम्बरको मोटरसाइकल र बा.प्र.०६-००३ प १७५३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा बा.प्र. ०६-००३ प १७५३ नम्बरको मोटरसाइकल चालक सप्तरी घर भएका २८ वर्षीय महेश पण्डित र बा.९० प ६७९४ नम्बरको मोटरसाइकल चालक रौतहट घर भएका २५ वर्षीय रोशन चौधरी रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका महेशको एलएस न्यूरो अस्पताल परवानीपुर र रोशनको प्रादेशिक अस्पताल कलैया बारामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बा. ९० प ६७९४ नम्बरको मोटरसाइकलमा सवार अन्य १ जनाको एलएस न्यूरो अस्पताल बारामा उपचार भइरहेको छ ।
त्यस्तै रूपन्देहीको बुटवल उपमहानगरपालिका-१०औद्योगिक क्षेत्र अगाडि सडकमा लु.१ ख ९२७२ नम्बरको बसको ठक्करबाट साइकलयात्री तिलोत्तमा नगरपालिका-१० बेहोरा बस्ने ५८ वर्षीय लाल बहादुर हरिजनको आइतबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी रूपन्देही, सैनामैना नगरपालिका-१० फायरलाइनस्थित सडकमा लु.२ ख ६७६१ नम्बरको बसले लु.२९ प ६५४६ नम्बरको मोटरसाइकललाई आइतबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक अर्घाखाँची सितगंगा नगरपालिका-१ बस्ने १९ वर्षीय सुभाष बुढाथोकीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको साझा हस्पिटल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
