माओवादीले जनजागरण अभियानमा ठूला सभा नगर्ने

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले मध्यपहाडी जनजागरण अभियानअन्तर्गत यसअघि जस्तो ठूलो आमसभा र भेला नगर्ने भएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा बिहीबार बसेको पदाधिकारी बैठकले वर्खायाम बाँकी नै रहेकाले ठूला सभा नगरी पार्टी र जनस्तरमा आन्तरिक छलफल गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

बैठकले सरकारलाई जनउत्तरदायी बनाउन खबरदारीसँगै सडक सङ्घर्ष पनि गर्ने निर्णय गरेको छ । बैठकमा पार्टीभित्रका गुटगत गतिविधि नियन्त्रण गर्ने बारेमा छलफल भएको उहाँले जानकारी दिनुभयो ।

“पार्टीभित्रका गुट तथा स्वार्थ समूह भत्काउने र गुटगत गतिविधि अनुगमन गर्ने स्थायी समिति बैठकको निर्णयबारे छलफल भएको छ”, प्रवक्ता सापकोटाले भन्नुभयो, “यसप्रकारका गतिविधिहरुलाई नियन्त्रण गर्न अनुगमन समिति बनाउने विषयमा छलफल भएको र निर्णय अर्को बैठकमा लिइनेछ ।”

बैठकमा एकता प्रक्रियामा आएका नेता कार्यकर्ताको जिम्मेवारी र कार्यविभाजन तथा वाम एकताबारे समेत छलफल भएको थियो ।



सम्बन्धित समाचार