नवकान्तिपुर संवाददाता
काठमाडौं, २० भदौ ।


देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका-३ सिता राईस मिलस्थित सडकमा लु.२७ प ७०० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री तिलोत्तमा नगरपालिका-३ संखरनगर बस्ने ५० वर्षीय इन्द्र बहादुर थापाको बिहीबार राति मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै सर्लाहीको ब्रहम्पुरी गाउँपालिका-२ स्थित सडकमा बीआर ३० क्यू ५२९५ नम्बरको मोटरसाइकलको ठक्करबाट चन्द्रनगर गाउँपालिका-५ बस्ने ६५ वर्षीय हरि नारायण रामको गए राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले
नियन्त्रणमा लिएको छ । यस्तै सिन्धुलीको कमलामाई नगरपालिका-९ बथानचौडीस्थित सडकमा बाग्मती प्रदेश ०१- ००६ ख ९६४४ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४६ वर्षीय भुवन भुजेलको शुक्रबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको शुभ-स्वस्तिक अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो । साथै ट्रकको ठक्करबाट घाइते भएका अन्य १ जना पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
