
इन्द्रजात्राको अवसरमा भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३८ वर्षीय वीरेन्द्रभक्त गजू श्रेष्ठले आइतबार साँझ जिब्रो छेडाएर भक्तपुरको दत्तात्रय र नवदुर्गा मन्दिर सम्म यात्रा गर्नुभएको छ ।
भाद्र शुक्ल पूर्णिमाको साँझ आज राति ८ः३० बजे मध्यपुरथिमि नगरपालिका–४ र ५ को सङ्गमस्थलमा दिगुटोल दिग भैरब अगाडिको डबलीमा कर्मी नाइके बाबुकाजी श्रेष्ठले तीन वटा चुच्चो भएको १० इन्च लामो फलामको सियोले जिब्रो उहाँको जिब्रो छेड्नुभएको थियो ।
त्यसपछि छेडिएको जिब्रोसहित वीरेन्द्रभक्त महाद्विप (भेय्) बोकेर खाली खुट्टा भक्तपुरको नवदुर्गा र दत्तात्रयसम्म पग्नु भएको हो । नेपाल संवत् तिथि बमोजिम ञङ्लाथ्व पुन्हि अर्थात् इन्द्रजात्राको भोलिपल्ट हजारौँको सङ्ख्यामा उपस्थित भीडबीचमा कर्मी नाइकेबाट जिब्रो छेडाउनुभएको हो ।
जिब्रो छेडेर ३५० वर्ष पुरानो जात्रालाई जिवन्त राख्नु भएका वीरेन्द्रभक्तले यसअघि पहिलो पटक २०७४ सालमा, त्यसपछि २०७९ र २०८१ मा जिब्रो छेडाउनुभएको थियो ।
गतवर्ष खाली खुट्टा पशुपतिनाथसम्म पुगेर फर्किनुभएका उहाँले २८ किलोमिटर पैदल हिँड्नुभएको थियो । यसवर्ष भक्तपुर पुगेर फर्कँदा करिब १३ किलोमिटर यात्रा पार हुने उहाँले बताउनुभयो ।
जिब्रो छेड्ने व्यक्तिको इच्छाअनुसार पशुपति मन्दिर, चाँगुनारायण मन्दिर, भक्तपुरका विभिन्न मन्दिर, स्वयम्भु, नमोबुद्धसम्म जिब्रो छेडेर पुर्खा पुगेको इतिहास छ । यसवर्ष जिब्रो छेड्नेको चाहनाअनुसार नवदुर्गा र दत्तात्रयको दर्शनसमेत गर्ने गरी जात्रा लगिएको आयोजक येँयाः पुन्हिया लसताय् म्येम्वाः खानेगु जात्रा व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
जात्रामा मध्यपुरथिमि नगरपालिकाले तीन लाख रुपैयाँ, वागमती प्रदेशका पर्यटनमन्त्री सुरेश श्रेष्ठले दुई लाख रुपैयाँ सहयोग गरेको र बाँकी नपुग रकम समितिलाई स्थानीयले सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।
दिगुटोलबाट सुरु भएको जात्रा बालकुमारी मन्दिर, तछुटोल, बिष्णुबिर मन्दिर, यमाटोल, मरुटोल, शङ्खधर चोकथिमि, सूर्यविनाक नगरपालिका–४ मा पर्ने दक्षिण बाराही मन्दिर (क्वाछे) हुँदै पुन शङ्खधर चोक थिमि फर्किएको छ ।
त्यसैगरि शङ्खधर चोकबाट मुख्य सडक हुँदै राधे राधे, सल्लाघारी, भक्तपुर नगरपालिका क्षेत्र प्रवेश गर्दै चोङ्गा गणेश, सिद्ध पोखरी, नःपुखु, दरबार स्क्वायर, पाँचतले मन्दिर, सुकुलढोका, दत्तात्रय मन्दिर, क्वाठण्डौँ, नवदुर्गा मन्दिर (द्यो छें), साक्वःलान हुँदै पुन पाँचतले मन्दिर फर्कियो ।
त्यसपछि वंशगोपाल, सिद्ध पोखरी, सल्लाघारी चोङ्गा गणेश मध्यपुरथिमिको निकोसेरा, नगरपालिका चोक, पाटी बिहार, गुङ चिवा, भिमसेन चोक, गणेश स्कुल, नगदेश, सिद्दी गणेश मन्दिर, गार्चा चोक, सिद्धिकाली चोक, सिद्धिकाली मन्दिर, भुलाँखेल, चोडे, दुई पोखरी हुँदै बालकुमारी मन्दिर पुगेर जिब्रोबाट सियो निकालेर आजको जात्रा बिसर्जन गरिने छ ।
किम्बदन्तीअनुसार प्राचिन कालमा थिमिमा भूतप्रेत र पिशाचको आतङ्क मच्चाएर जथाभावी मानिस मार्ने गरेपछि यसलाई नियन्त्रण गर्न एक जनाको जिब्रो छेडी नगर परिक्रमा गराइएको र त्यसपछि भूत, प्रेत, पिशाच भागेर शान्ति स्थापना भएको भनाइ छ ।

