नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ असोज ।


सर्लाही ए सुर्खेतमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सर्लाहीको हरिपुर्वा नगरपालिका-५ स्थित सडकमा बाँकेबाट संग्रामपुरतर्फ जाँदै गरेको बीआर ३० एई ८२२० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६८ वर्षीय गजेन्द्र साहको बिहीबार बेलुकी मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-८ खजुरास्थित सडकमा दैलेखी चोकबाट कालिन्चोकतर्फ आउँदै गरेको रा.३ प ९८७७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री दैलेख डुङ्गेश्वर गाउँपालिका-३ बस्ने रवि सापकोटाको छोरा ६ वर्षीय सुवास सापकोटाको बिहीबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको नेपालगंजस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै ठक्करबाट घाइते भएकी अन्य १ जना पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

