मधेस प्रदेश सरकारका सेवा दशैँपछि पूर्ण रुपमा सञ्चालन हुने

मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले जेनजीको प्रदर्शनका क्रममा तोडफोड तथा आगजनीको कारण क्षतिग्रस्त भएका कार्यालयले बडादशैंपछि पूर्ण रुपमा सेवा प्रवाह गर्ने बताउनुभएको छ ।

उहाँले शनिबार पत्रकारहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै जेनजी प्रदर्शनका क्रममा मधेस प्रदेश सरकारको सरकारी निकायमा भौतिक संरचनाको व्यापक क्षति भएकाले यसको मर्मत तथा सुधारमा थप अझै केही दिन समय लाग्ने र त्यसपछि सेवाहरु पूर्ण रुपमा सञ्चालनमा आउने बताउनुभयो ।

सुरक्षामा क्रमिक रुपले सुधार हुँदै गएकाले प्रदेशका विभिन्न मन्त्रालय तथा कार्यालयहरुमा कर्मचारीहरु आउन सुरु गरिसकेको उहाँको भनाइ छ । यद्यपि काम गर्न भौतिक संरचनाको समस्या र अभाव रहेको उल्लेख गर्दै उहाँले त्यसको वातावरण बनाउनका लागि केही दिन समय लाग्ने बताउनुभयो ।

प्रदेशसभा भवनसहित मन्त्रालयहरुको क्षति भएको संरचनाहरुको मूल्याङ्कनका लागि पाँच सदस्यीय समिति गठन गरिएको छ ।

मधेस प्रदेश सरकारअन्तर्गतका मुख्यमन्त्री कार्यालयसहित मधेस प्रदेशसभा भवन तथा सचिवालय, भौतिक पूर्वाधार विकास मन्त्रालय , ऊर्जा तथा सिँचाइ मन्त्रालय, श्रम तथा यातायात मन्त्रालयलगायत अन्य मन्त्रालय तथा सरकारी कार्यालयको भौतिक संरचनामा आक्रमण गरी तोडफोड गर्नाका साथै आगजनी गरिएको थियो ।

साथै सवारीसाधनहरु पनि क्षतिग्रस्त बनाइएको छ । सुरक्षा अभावमा त्यहाँको समानहरु पनि लुटपाट भएको छ ।

सम्बन्धित समाचार