नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ असोज ।


भ्रष्टाचार आरोप रहेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको जानकारी पाएपछि प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य मन्त्रीका लागि सिफारिस भएकी डा. संगीता मिश्राको नाम फिर्ता लिने तयरी गर्नुभएको छ ।
योसँगै स्वास्थ्य मन्त्रीका लागि सिफारिस भएकी डा. संगीता मिश्रा मन्त्री नबन्ने लगभग पक्का जस्तै भएको छ । प्रधानमन्त्री कार्कीले स्वास्थ्य मन्त्रालयकी पूर्वअतिरिक्त सचिव मिश्राको नाम स्वास्थ्य मन्त्रीको रुपमा आइतबार राष्ट्रपति समक्ष सिफारिस गर्नुभएको थियो ।
तर, उनीमाथि भ्रष्टाचार आरोप रहेको सूचना पाएपछि प्रधानमन्त्री कार्कीले ‘होल्ड’ गर्न भनेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । आइतबार प्रधानमन्त्री कार्कीले अनिल कुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेललाई मन्त्रीको लागि सिफारिस गर्नुभएको थियो ।
महावीरलाई शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारी सिन्हालाई कानुन, उद्योग वाणिज्य, भूमि सुधारसहितका मन्त्रालयको जिम्मेवारी दिइने प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ । यस्तै संगीतालाई स्वास्थ्य र मदन परियारलाई कृषि र खरेललाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइने स्रोतले बतायो ।
नवनियुक्त मन्त्रीहरुको शपथका लागि आज दिउँसो दुई बजेको समय निर्धारण गरिएको छ ।
