नवकान्तिपुर संवाददाता
काभ्रेपलाञ्चोक, ७ असोज ।


काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाका पूर्वनगरप्रमुख टङ्कप्रसाद (टिपी) शर्मा तिमल्सिनाको आज बिहान निधन भएको छ ।
पूर्वनगरप्रमुख तिमल्सिनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको उहाँका भतिजा प्रकाश तिमल्सिनाले जानकारी दिनुभयो ।
नमोबुद्ध–२ का ६७ वर्षीय तिमल्सिना २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नगरप्रमुखमा निर्वाचित हुनुभएको थियो । गत साउन १० गते बिपी राजमार्गको बीसकिलोमा छोरा किशोरले चलाएको स्कुटरमा सवार भएको अवस्थामा काठमाडौँतर्फ जाँदा उहाँ दुर्घटनामा पर्नुभएको हो ।
गम्भीर घाइते उहाँ धुलिखेल अस्पतालको सघन उपचारकक्षमा उपचाररत हुनुहुन्थ्यो । तिमल्सिनाका श्रीमती र दुई छोरा हुनुहुन्छ ।
