नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ असोज ।


देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१५ स्वयम्भू कारखाना चोकस्थित सडकमा ना.७ ख ५२३२ नम्बरको ट्याङकरको ठक्करबाट पैदलयात्री काठमाडौं महानगरपालिका-१७ बस्ने ८० वर्षीय विजय मान सैंजुको मृत्यु भएको छ ।
आइतबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा आइतबार बेलुकी मृत्यु भएको हो । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी काठमाडौं महानगरपालिका-१२ टेकुस्थित सडकमा बीएइ ३४६६ नम्बरको कारको ठक्करबाट पैदलयात्री हाल नाम, थर र वतन नखुलेका करिब ५५ वर्षीय पुरूषको सोमबार बिहान मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचेस्थित सडकमा बा.५१ प ८९६२ नम्बरको मोटरसाइकल र ग.२४ प ९१४१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा बा.५१ प ८९६२ नम्बरको मोटरसाइकलमा सवार घरपझोङ गाउँपालिका-२ मार्फा बस्ने २५ वर्षीय बुद्धि परियारको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल जोमसोममा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बा.५१ प ८९६२ नम्बरको मोटरसाइकल चालकको राष्ट्रिय ट्रामा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ । प्रहरीले ग.२४ प ९१४१ नम्बरको मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ ।
यस्तै नवलपरासी पूर्व, विनयी त्रिवेणी गाउँपालिका-४ सिलौटेस्थित सडकमा ना.४३ प ६१८४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका-२ घुसेरी बस्ने १९ वर्षीय सन्तोष गैरेको मृत्यु भएको छ । आइतबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल डण्डामा थप उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक समेत मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । उता अर्घाखाँची, सन्धिखर्क नगरपालिका-९ टारीस्थित सडकमा सन्धिखर्कबाट गुल्मी पुर्कोटदहतर्फ जाँदै गरेको लु.१ ज ४७२४ नम्बरको जिप सोमबार बिहान दुर्घटना हुँदा जिपमा सवार २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा गुल्मी मदाने गाउँपालिका-६ पुर्कोट बस्ने १० वर्षीया अरुणा थापा र सोही गाउँपालिका-७ नेटा खर्क बस्ने १३ वर्षीय नारायण पौडेल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको सरकारी अस्पताल अर्घाखाँचीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका जिपका चालक समेत ६ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल उपचार भइरहेको छ ।
यता रौतहटको वृन्दावन नगरपालिका-६ हर्षाहा चोकस्थित सडकमा प्र.२-०३-०१७ प ९३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक माधवनारायण नगरपालिका-६ बस्ने २८ वर्षीय प्रमोद राय यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चपुर सरकारी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

