जीवित देवी कुमारीले सर्वसाधारणलाई दशमीको टीका लगाइदिने

कुमारी आर्यताराले सर्वसाधारणलाई दशमीमा टीका लगाइदिनुहुने भएको छ ।

महानवमीको रातमा जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन गराएपछि सर्वसाधरणलाई दशमीको टीका ११ बजेपछि लगाउने कार्यसूची रहेको हनुमानढोकास्थित कुमारीघर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले जानकारी दिनुभयो ।

जीवित देवी कुमारीलाई विशेष शक्ति प्राप्त हुने विश्वासका साथ महानवमीको मध्यरातमा तलेजु भवानीको दर्शन गराइने प्रचलन छ । भवानीको प्रतीकका रूपमा कुमारीलाई सम्मान गरिन्छ ।

नवमीको रातमा पनि मूलचोक नजिकै पूजाआजाका क्रममा ५४ बोका र ५४ राँगाको बलि दिने प्रचलन छ । मंगलबार राति कालरात्रिमा समेत पशु बलि दिइएको हो । यसरी तलेजुको पूजाआजा गर्दा राज्य सञ्चालनका लागि शक्ति प्राप्त गर्ने सङ्कल्पसहित धार्मिक गतिविधि गरिँदै आएको छ ।

सम्बन्धित समाचार