नवकान्तिपुर संवाददाता
काठमाडौँ, १८ असोज l


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौँ उपत्यकाका नदी खोला किनारका सडक (करिडर सडक)मा साँझ ६:०० देखि बिहान ६:०० बजेसम्म सवारी आवागमनमा रोक लगाउन आग्रह गरेको छ ।
प्राधिकरणले आज एक सूचना जारी गर्दै काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा भारीदेखि अतिभारी वर्षा भइरहेको जनाउँदै करिडोर सडकमा आवागमन रोक लगाउन उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको हो ।
आज राति वर्षाको मात्रा अझै बढ्न गई नदी खोलामा पानीको तह थप बढ्ने एवं नदी खोला किनारका सडक डुबानमा परी जोखिम बढ्ने सम्भावना रहेको उल्लेख गर्र्दै प्राधिकरणले सतर्क रहन भनेको हो ।
“सम्भावित जोखिम कम गर्न काठमाडौँ उपत्यकाका नदी खोला किनारका सडक (करिडर सडक) मा आज साँझ ६:०० बजेदेखि भोलि बिहान ६:०० बजेसम्म सवारी आवागमनमा आवश्यकतानुसार रोक लगाउनु हुन निर्णयानुसार अनुरोध छ”, प्राधिकरणद्वारा जारी सूचनामा उल्लेख छ ।

