भ्रष्टाचारविरुद्ध निडर आवाज बनेका केसी : पार्टीभित्र रुपान्तरण नभए इतिहासमै हराउने खतरा

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता अर्जुन नर्सिङ केसी अहिलेको नेपाली राजनीतिक परिवेशमा एक दूरदृष्टि भएका, साहसी र निडर नेताको रूपमा चिनिँदै आएका छन्। पार्टीभित्र मौलाउँदै गएको भ्रष्टाचार, दण्डहीनता र गुटबन्दी राजनीतिविरुद्ध खुलेर बोल्दै आएका केसी आज जनतामाझ ‘सत्य बोल्ने नेता’ का रूपमा परिचित छन्।

नेता केसीले पछिल्ला वर्षहरूमा पार्टीभित्रैबाट आवाज उठाउँदै नेतृत्वलाई पटक–पटक सचेत गराउँदै आएका छन्- “यदि हामीले समयमै सुधारको बाटो लिएनौं भने नेपाली काङ्ग्रेस जनताको विश्वास गुमाएर इतिहासकै पाना मात्र सीमित बन्न सक्छ।”

पार्टीभित्रको अस्वस्थ प्रतिष्पर्धा र भ्रष्टाचारमाथि निर्मम् प्रहार गर्ने केसी विगत लामो समयदेखि पार्टीभित्र मौलाउँदै गएको भ्रष्टाचार र आन्तरिक लडाइँको कठोर आलोचकका रूपमा परिचित छन्। उनका अनुसार, पार्टी नेतृत्वले जनताको भावना बुझ्न छाडेको छ, र यही कारण आज युवाहरूमा काङ्ग्रेसप्रति निराशा बढ्दै गएको छ।

उनी भन्छन्, ‘२०४६ सालदेखि सार्वजनिक पदमा बसेका सबै नेताहरूको सम्पत्ति छानबिन हुनुपर्छ। जनताको करबाट उठेको पैसामा ऐश्वर्य प्रदर्शन गर्ने नेताहरूले अब जवाफ दिनैपर्छ।’

उनले भ्रष्टाचार, अनियमितता र आन्तरिक स्वार्थका कारण काङ्ग्रेस पार्टी आफ्नो लोकतान्त्रिक पहिचान गुमाउँदै गएको पनि बताए।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले दुई ठूला पार्टीहरूको संयुक्त सरकार सत्ताबाट हटाएको घटना नेपाली राजनीतिमा ठूलो मोडको रूपमा आएको नेता केसीको ठम्याइ छ। उनका अनुसार जनताको दबाबकै कारण पूर्वन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा स्वतन्त्र अन्तरिम सरकार गठन भएको हो, जसले देशलाई समयमै निर्वाचनमा लैजाने जिम्मेवारी लिएको छ।

केसी भन्छन्, ‘अहिलेको सरकार जनताको आक्रोश र नवचेतनाको परिणाम हो। गल्ती गर्नेलाई अब जनताले माफी दिने छैनन् । समयमै सुधार नगर्ने हो भने जुनसुकै दल पनि मेटिन सक्छ।’

पुराना दलहरू र नेताहरूतिर लक्षित गर्दै नेता केसीले बारम्बार चेतावनी दिने गरेका छन्- ‘यदि समयमै जनताको निराशा सम्बोधन गर्न सकिएन भने फेरि पनि देशमा ठूलो आन्दोलनको आँधीबेरी आउन सक्छ, जसलाई रोक्न सक्ने कुनै शक्ति समर्थ हुने छैन।’

नेता केसी पार्टी नेतृत्वलाई स्मरण गराउँदै भन्छन् ‘समयले कसैलाई पर्खिँदैन। युवाहरूको विश्वास र भविष्य गुमाउने पार्टी इतिहासमा मात्र सीमित हुन सक्छ।’

रुपान्तरण र पुस्तान्तरणको आवश्यकताको सन्दर्भमा नेता केसीले स्पष्ट धारणा राखेका छन्- ‘युवाले खोजेजस्तो नयाँ सोच, नयाँ अभ्यास र नयाँ नेतृत्व पार्टीभित्रैबाट आउन जरुरी छ। रुपान्तरण र पुस्तान्तरण बिना काङ्ग्रेसले आफ्नो अस्तित्व जोगाउन सक्दैन।’

उनले थपे, ‘जनताको उकुसमुकुस सडकमा पोखिँदा २७ घण्टामा देश खरानीमा परिणत भयो। अब यही खरानी टकटकाउँदै पुनः उठ्न जरुरी छ। काङ्ग्रेसले जनताको विश्वास जित्ने हो भने इमानदार नेतृत्व, स्पष्ट दृष्टिकोण र नीति–आधारित राजनीति अवलम्बन गर्नु अपरिहार्य छ।’

केपी ओली र ठूला दलप्रतिको टिप्पणी गर्दै नेता केसीले भनेका छन् – हालका ठूला दलका शीर्ष नेताहरूको अकर्मण्यता र सत्ताप्रतिको मोहकै कारण आजको संकट निम्तिएको हो । उनका अनुसार केपी ओलीको अतिरञ्जित दम्भ र काङ्ग्रेसले आफ्नो ऐतिहासिक गरिमा र भूमिका बिर्संदा अहिलेको स्थिति पैदा भएको हो । देशमा यति ठूलो परिवर्तन भइसक्ता पनि ठूला भनिने दलहरूमा चेतना आइसकेको छैन र अझै स्वार्थ प्रेरित अभिव्यक्तिहरू दिइरहेका छन्, जुन मुलुककै लागि दुःखद् विषय हो ।

अर्जुननर्सिङ केसी जस्ता नेताहरूले उठाएको प्रश्न अब केवल पार्टीभित्रको विवाद मात्र होइन, देशको लोकतान्त्रिक भविष्यसँग जोडिएको छ। यो एउटा राजनैतिक चेतावनी पनि हो । उनले भनेझैं समयले कसैलाई पर्खिँदैन l रुपान्तरण नरुचाउने वा अस्वीकार गर्ने पार्टी इतिहासमै हराउन सक्छ ।

सम्भवतः नेपाली काङ्ग्रेस अहिले इतिहासको निर्णायक मोडमा उभिएको छ । या त काङ्ग्रेस पार्टी अब कुनै नेता विशेषको स्वार्थका लागि सती जान तयारी हुनुपर्यो, या त आफ्नो ऐतिहासिक गरिमा बचाउँदै र आफ्ना गल्ती/कमजोरीलाई सच्याउँदै जनताको भावनासँगै गतिशील हुने आँट र साहस देखाउन सक्नुपर्यो । होइन भने काङ्ग्रेस इतिहासका पानामा मात्र सीमित हुनेछ । जनताले ‘राम राम’ भन्न सक्नेछन् तर काँधमा हालेर हिँड्न सक्नेछैनन् ।

सम्बन्धित समाचार