नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ असोज ।


इजरायली सेनाका अधिकारीले गाजामा बन्दी बनाइएका नेपाली नागरिक विपीन जोशी जीवित नरहेको बताएका छन् । इजरायली सेना आईडीएफका एक अधिकारीले विपिन जीवित नरहेको औपचारिक जानकारी दिएका हुन् ।
अमेरिकामा रहेका आमा र बहिनीलाई तथा नेपालमा रहेका आफन्त किशोर जोशीलाई जानकारी दिएको इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले जानकारी दिनुभयो ।
हमास समूहले उनलाई किबुज आलुमिमबाट २०८० असोज २३ मा अपहरण गरेको थियो । उनी सोही वर्ष मंसिरसम्म जीवित रहेको भिडयो सार्वजनिक भएको थियो । चौबिस वर्षीय नेपाली युवा जोशी आक्रमण हुनुभन्दा एक महिनाअघि मात्र आफ्नो जन्मस्थान नेपालबाट इजरायल पुग्नुभएको थियो । उनी कृषि अध्ययनका लागि विद्यार्थी आदानप्रदान कार्यक्रममा सहभागी हुन गाजाको सीमामा रहेको किबुट्ज अलुमिममा कार्यरत थिए ।
कार्यक्रमका १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको हमासको आक्रमणका क्रममा मृत्यु भएको थियो । उनीहरू बम आश्रयमा लुकेका थिए र हमलाको क्रममा फ्याँकिएका जीवित ग्रेनेडहरूबाट बाँच्न सफल भए पनि विपीन जोशी घाइते भएर अपहरणमा परेका थिए ।

