नवकान्तिपुर संवाददाता
कर्णाली, २८ असोज ।


कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) नेता यामलाल कँडेलले जनताको विश्वास, भरोसा र समर्थनले मात्रै पार्टी सुरक्षित हुने बताउनुभएको छ ।
सोमबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित एमाले जिल्ला सचिवालयको बैठकमा उहाँले इतिहासमै पहिलोपटक भएको राजनीतिक असुरक्षाको स्थितिमा जनताको समर्थन नै पार्टी अस्तित्वको आधार हुने बताउनुभयो ।
नेता कँडेलले भन्नुभयो, “जनताको घर–घरमा पुगौँ । वर्तमान अवस्था र आगामी राजनीतिक चुनौतीबारे बुझाऔँ । जनसमर्थनबाट दलहरूको बलियो बन्न सक्छन् ।”
उहाँले हालको समय अत्यन्त संवेदनशील रहेको उल्लेख गर्दै कार्यकर्तालाई उच्च मनोबलका साथ सक्रिय हुन आग्रह गर्नुभयो । “राजनीति भनेको जनसम्पर्क हो, जनता नै हाम्रो शक्ति हुन् । गाउँ–गाउँ, टोल–टोलमा पुगेर पार्टीको नीति, उद्देश्य र भविष्यको योजना जनतासामु पुर्योऔँ”, कँडेलको भनाइ थियो ।
अबको राजनीतिक यात्रा सजिलो नभएको औँल्याउँदै मुख्यमन्त्री कँडेलले कमजोर राजनीतिक चेतनाले पलायन र निराशा बढ्ने तर्क गर्नुभयो ।

