गंगा दाहालद्वारा प्रचण्डको सचिवालयबाट राजीनामा

नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालले पार्टी संयोजकको सचिवालयबाट राजीनामा दिनुभएको छ । सोमबार गंगाले सामाजिक सञ्जाल फेसबुकबाट राजीनामाको घोषणा गर्नुभएको हो ।

उहाँले आफूलाई देखाएर निरन्तर बुवा प्रचण्ड र सिंगो पार्टीविरुद्ध प्रहार भएका कारणले आफूले राजीनामा दिएको गंगाले बताउनुभएको छ । गंगाले भन्नुभएको छ, ‘निरन्तर मलाई देखाएर नेकपा (माओवादी केन्द्र) का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनाबद्ध प्रहार भइरहेका कारणले यस्तो अवस्थामा मैले सचिवालयको जिम्मेवारीबाट बाहिरिँदा नै बुवा, पार्टी र आन्दोलनको लागि राम्रो होला भन्ने निष्कर्षमा पुगेर बुवाको सचिवालयबाट राजीनामा दिएको छु ।’

उहाँले राजिनामा दिएपनि पार्टीमा जिम्मेवार कार्यकर्ता भएर सधैं क्रियाशील रहने पनि बताउनुभएको छ । गंगाले भन्नुभएको छ, ‘पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले आजीवन रूपमा पार्टीमा भने क्रियाशील रहनेछु। सचिवालयमा रहँदा पार्टीका नेताहरू, कार्यकर्ताहरू र आम नागरिकले गरेको सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’

सम्बन्धित समाचार