नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ कात्तिक ।


नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा कम्युनिष्ट आन्दोलनको पुनःगठन र ध्रुवीकरण अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।
पार्टीद्वारा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा सहसंयोजक नेपालले मुलुकमा विद्यमान राजनीतिक, आर्थिक तथा सामाजिक सङ्कटको सामना गर्न सम्पूर्ण देशभक्त वाम शक्ति एक ठाउँमा आउनुको विकल्प नभएको बताउनुभयो ।
मुलुकको समाजवादी अर्थव्यवस्थाको कार्यान्वयन तथा आर्थिक समृद्धि, सुशासन कायम गर्ने उद्देश्यले वामपन्थीबीच एकता प्रक्रिया सुरु गरिएको र आगामी दिनमा यस कार्यलाई थप विस्तार गरिने उहाँले प्रष्ट पार्नुभयो ।
समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न बृहत् कम्युनिष्ट आन्दोलनको एकीकरण आजको आवश्यकता भएको तथा विभिन्न प्रकारले वामपन्थी अभियान सञ्चालन गरिरहेका कम्युनिष्ट नेतालाई एकता प्रक्रियामा सहभागी हुन सहसंयोजक नेपालले आह्वान गर्नुभयो ।
सो अवसरमा उहाँले नेकपा (एमाले) का पूर्वकेन्द्रीय सदस्य तथा मुगु खत्याड गाउँपालिकाका पूर्वअध्यक्ष उब्जनबहादुर शाहीलाई पार्टी प्रवेश गराउनुभयो ।

