नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ मंसिर ।


जेनजी पुस्ताले भ्रष्टाचार र बेथितिविरुद्ध खबरदारी गर्न गरेको प्रदर्शन देखाउने टेलिचलचित्र सार्वजनिक भएको छ । कलाकारिताका दुई हस्ती नाट्यकर्मी सुनील पोखरेल र हास्यकलाकार सन्तोष पन्तलगायत कलाकारले जागरणमूलक यस्तो टेलिचलचित्र सुरु गर्नुभएको हो ।
टेलिचलचित्र नवयुगमार्फत देशमा भइरहेको भ्रष्टाचार, बेथिति, कुसंस्कार, कुरीति र राजनैतिक नेतृत्वले गरेको बेइमानीविरुद्ध खबरदारी गर्न उहाँहरु एउटै पर्दामा उत्रनुभएको हो । सुनिल पोखरेल लामो समयदेखि चलचित्र र नाटकमा देखिनुभएको थिएन । उहाँले गत भदौ २३ र २४ को युवाहरुको प्रदर्शनपछि पर्दामा आउनु परेको बताउनुभयो ।
युवाहरु परिर्वतन चाहन्छन् । कुशासनको अन्त्य र सुशासनको सुरुआत सम्भव छ । देश युवापुस्तालाई हस्तान्तरण गर्नैपर्छ भन्ने टेलिचलचित्रमार्फत दिन खोजिएको छ । स्वदेशमै केही गर्न सम्भव छ, विदेसिनु हुन्न भन्ने कथाको मूल सन्देश हो ।
नेताले देश खाए भन्ने प्रतिबिम्बका रुपमा सन्तोष पन्तले ‘धमिरे’को भूमिकाको अभिनय गर्नुभएको छ । सुनिल पोखरेल आदित्य गुरु बनेर समाजलाई सकारात्मक दिशामा लैजान सम्भव छ भन्ने प्रेरणादायी गुरुका रुपमा देखिनुभएको छ ।
टेलिचलचित्रमा दीपक बस्नेतले लेखन तथा निर्देशन गर्नुभएको हो । टेलिचलचित्र नवयुग दिप क्रियटिभ युट्युब च्यानलबाट प्रदर्शनमा आएको जनाइएको छ ।
