नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ मंसिर ।


नेपाल प्रिमियर लिग (एनपिएल)को ‘इलिमिनेटर’ खेल जितेर लुम्बिनी लायन्स दोस्रो ‘क्वालिफायर’मा प्रवेश गरेको छ । बुधबार सम्पन्न खेलमा काठमान्डु गोर्खाजलाई चार विकेटले पराजित गर्दै लुम्बिनी क्वालिफायरमा प्रवेश गर्यो ।
लुम्बिनीले अब बिहीबार विराटनगर किङ्ससँग दोस्रो ‘क्वालिफायर’मा प्रतिस्पर्धा गर्नेछ । दोस्रो ‘क्वालिफायर’को विजेताले ‘फाइनल’मा मङ्सिर २७ गते सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ ।
बुधबारको जितपछि लुम्बिनीका कप्तान रोहित पौडेलले अबको ध्यान बाँकी खेल कसरी जित्ने भन्नेमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आजको खेल जित्दा खुसी छौँ । अब बाँकी रहेका दुई खेल जितेर च्याम्पियन कसरी हुने भन्नेमा ध्यान छ ।”
सञ्चारकर्मीसँगको कुराकानी पौडेलले बलिङ पक्ष राम्रो हुँदा खेल जित्न सम्भव भएको सुनाउनुभयो । काठमाडौँलाई कम ‘स्कोर’मा रोक्दा जित निकाल्न सहज भएको उहाँको भनाइ छ ।
प्रतियोगिताबाट बाहिरिएको काठमान्डुका प्रशिक्षक मोन्टी देसाइले ब्याटिङबाट कम रन बन्नु नै हारको मुख्य कारण बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “ब्याटिङबाट २०–३० रन कम बन्यो, जसले गर्दा दोस्रो इनिङमा हामीले लुम्बिनीलाई रोक्न सकेनौँ । १३०-१४० सम्म पनि रन बनेको भए खेल अर्कै हुन्थ्यो ।”
