रासस निर्वाचन आचारसंहिता आयोगलाई हस्तान्तरण

राष्ट्रिय समाचार समिति (रासस)ले प्रतिनिधिसभाको आसन्न निर्वाचनलाई दृष्टिगत गर्दै आफ्ना पत्रकार, कर्मचारी एवं आफ्ना उत्पादित सामग्रीको स्वनियमन गर्ने उद्देश्यले जारी गरेको निर्वाचन आचारसंहिता–२०८२ को प्रति निर्वाचन आयोगसमक्ष हस्तान्तरण गरेको छ ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाको नेतृत्वको टोलीले आज आयोगको कार्यालयमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायत पदाधिकारीलाई सो आचारसंहिता हस्तान्तरण गरेको हो । रासस सञ्चालक समितिबाट पारित २३ बुँदे आचारसंहिता आजदेखि कार्यान्वयन भएको हो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई मर्यादित र शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न, गराउन रासस र राससकर्मीको कर्तव्य हुनेलगायतका विषय राससको आचारसंहितामा उल्लेख छ ।

राससको आचारसंहितामा देहायका विषयवस्तु एवं प्रावधान समेटिएका छन् :

राष्ट्रिय समाचार समिति (रासस)
निर्वाचन आचारसंहिता २०७९ (पहिलो संशोधन २०८२)

निर्वाचन नै लोकतन्त्रको मेरुदण्ड हो । लोकतान्त्रिक शासन व्यवस्थालाई सुदृढ बनाउनका लागि आवधिक निर्वाचन अपरिहार्य मानिन्छ । नेपालको संविधान (२०७२) जारी भएपछि पहिलो पटक विसं २०७४ मा सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । त्यसपछि विसं २०७९ वैशाख ३० मा स्थानीय तहको र २०७९ मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएको थियो ।

यतिखेर मुलुक यही फागुन २१ गते प्रस्तावित प्रतिनिधिसभाको निर्वाचनको तयारीमा छ । देशका समग्र राज्य संयन्त्रहरु आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारीमा परिचिलित भइसकेका छन् ।

निर्वाचनलाई निष्पक्ष, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न राज्यका अरू अङ्ग एवं निकायजस्तै चौथो अङ्गका रूपमा रहेको आमसञ्चारमाध्यमको भूमिका पनि गहन र अहम् हुन्छ ।

निर्वाचन भनेको राष्ट्रिय जिम्मेवारी पनि हो । निर्वाचन प्रक्रियाका सुरुदेखि अन्त्यसम्म समाचार सङ्कलन तथा प्रकाशन–प्रसारण गर्दा मिडियाले संविधानप्रदत्त प्रेस र अभिव्यक्ति स्वतन्त्रताका सीमा, व्यावसायिक पत्रकारिताका सिद्धान्त तथा मूल्यमान्यता, पत्रकार र निर्वाचन आचारसंहितासमेत बुझ्नुपर्ने हुन्छ ।

निर्वाचन गर्नु भनेको राज्यको संवेदनशील जिम्मेवारी भएकाले निर्वाचनमा आचारसंहिताको ठूलो महत्व हुन्छ र यसको पालना राज्यका सम्बद्ध सबै अङ्ग र निकायले गर्नुपर्दछ । यसै सन्दर्भमा छ दशकभन्दा लामो समयदेखि सेवा गर्दै आएको राज्यको एक मात्र आधिकारिक समाचार समितिका रूपमा रहेको राष्ट्रिय समाचार समिति (रासस) ले पनि निम्नबमोजिमको निर्वाचन आचारसंहिता निर्माण गरी लागू गर्ने प्रण गर्दछ ।

ऐन, नियम, विनियम, आचारसंहिता अवलम्बन

१. यो आचारसंहिता रासस ऐन, विनियम तथा प्रेस काउन्सिल नेपालबाट जारी पत्रकार आचारसंहिता २०७३ स्वीकार गर्दछ । यिनमा व्यवस्था गरिएका प्रावधानहरु सबै राससकर्मीले अवलम्बन गरिने छ ।

२. निर्वाचन आयोगलगायत नेपाल सरकारका सम्बन्धित निकायबाट जारी निर्वाचनसम्बन्धी आचारसंहिताको अवलम्बन गरिने छ ।

३. निर्वाचनलाई मर्यादित र शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न, गराउन रासस र राससकर्मीको कर्तव्य हुनेछ ।

४. निर्वाचनसम्बन्धी समाचार, तस्बिर, लेख, आलेख, श्रव्य, श्रव्यदृश्यलगायत सामग्री प्रकाशन र प्रसारण गर्दा निष्पक्षता, तटस्थता र स्वतन्त्रताको सिद्धान्त पालना गरिने छ ।

५. निर्वाचनसम्बन्धी सामग्री सम्प्रेषण गर्ने सन्दर्भमा बहुलवादी अवधारणालाई स्वीकार गरिने छ र कुनै पनि अवस्थामा कसैप्रति कुनै पनि प्रकारको भेदभाव गरिने छैन ।

दल र उम्मेदवारका पक्षमा लाग्न वर्जित

६. कुनै पनि राजनीतिक दल, तिनका नेता तथा कार्यकर्ता र उम्मेदवारलाई प्रत्यक्ष लाभ पुग्नेगरी प्रचार संयन्त्र वा तिनबाट गठित समितिका सदस्यका रूपमा रासस र राससकर्मी प्रयोग हुने छैनन् र तिनका चुनाव प्रचार अभियानमा पनि खटिने छैनन् ।

७. कुनै पनि राजनीतिक दल वा उम्मेदवारलाई अतिरिक्त लाभ पुग्नेगरी कुनै पनि प्रकारको एकपक्षीय सामग्री राससले उत्पादन तथा वितरण गर्नु हुँदैन ।

८. तर रासस र राससकर्मीले निर्वाचनलाई सफल बनाउन आवश्यक प्रचार सामग्री उत्पादन गर्ने तथा मतदाता शिक्षाको प्रचारप्रसारमा भने महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने छन् ।

अनुमानमा आधारित सामग्री वर्जित

९. अनुमानमा आधारित रहेर निर्वाचनसँग सम्बन्धित कुनै पनि सामग्रीहरु प्रकाशन–प्रसारण गरिने छैन । विनाआधार कुनै राजनीतिक दल र उम्मेदवारले विजय वा पराजय हासिल गर्ने आशयका विश्लेषणात्मक सामग्री पनि सम्प्रेषण गरिने छैन ।

१०. मतदानको प्रक्रिया प्रभावित हुनेगरी मतदाता पूर्वसर्वेक्षण र सम्पन्नपछिको सर्वेक्षण जस्ता अनुमानमा आधारित कुनै पनि प्रकारका सामग्री उत्पादन र वितरण गरिने छैन ।

सबैलाई समान महत्व

११. निर्वाचनसम्बन्धी कुनै पनि समाचार सम्प्रेषणका सन्दर्भमा सत्य पस्किने र सन्तुलन निर्वाह गर्ने कुरा अनिवार्यरूपमा आत्मसात् गरिने छ । राससले निर्वाचनमा सहभागी सबै राजनीतिक दल र तिनका उम्मेदवार र स्वतन्त्र उम्मेदवारका गतिविधिलाई समान महत्व दिनेछ ।

१२. कुनै पनि राजनीतिक दल, व्यक्ति, उम्मेदवार र सस्ंथाका विरुद्ध अमर्यादित, अपाच्य, असहिष्णु, एकार्कालाई होच्याउने र घृणा फैलाउने भाषाको प्रयोग अनुचित हुनेछ । त्यस्ता भाषाशैली वा प्रस्तुति कुनै वक्ताका भनाइमा पाइए पनि जस्ताको तस्तै वा प्रत्यक्ष कथनका रूपमा प्रयोग गरिने छैन ।

१३. विज्ञापनलाई समाचारका रूपमा प्रस्तुत गरिने छैन ।

सामाजिक सद्भावको अभिवृद्धि

१४. अशान्ति हुने, होहल्ला मच्चिने, द्वन्द्व फैलाउन सहयोग पुग्नेलगायत शान्ति, सुव्यवस्था र सुरक्षामा खलल पर्ने कुनै पनि सामग्रीको सम्प्रेषण गरिने छैन ।

१५. जातीय र साम्प्रदायिक विद्वेष तथा धार्मिक असहिष्णुता बढ्न सक्ने सामग्री प्रकाशन–प्रसारण गरिने छैन । रासस र राससकर्मी सदैव सामाजिक सद्भाव अभिवृद्धिको प्रवद्र्धनमा संलग्न हुनुपर्नेछ ।

१६. सम्बन्धित दल र व्यक्तिका प्रचारमा सहयोग पु¥याउने उद्देश्यले कुनै पनि उम्मेदवारको एकपक्षीय रूपमा अन्तर्वार्ता लिने तथा प्रकाशन र प्रसारण गर्ने काम हुनुहुँदैन ।

१७. राससका कुनै पनि कार्यालय र परिसरमा कुनै दल र उम्मेदवार विशेषका प्रचार सामग्रीसँग सम्बन्धित पर्चा, पोस्टर, ब्यानर, होर्डिङ बोर्ड, फ्लेक्स बोर्डजस्ता सामग्री टाँस्ने एवं र झुन्ड्याउने कार्य गरिने छैन ।

उम्मेदवार बन्न निषेध

१८. राससकर्मी आफू राससमा बहाल रहेकै अवस्थामा सङ्घ, प्रदेश र स्थानीय तह एवं स्थानीय तह आदि कुनै पनि पदका लागि उम्मेदवार बन्नुहुँदैन । तर राससको पद र जिम्मेवारी त्यागेर उम्मेदवार बन्न भने यो आचारसंहिताले रोक्ने छैन । नेपाल सरकार वा निर्वाचन आयोगले खटाएकोमा बाहेक रासस कर्मचारी वा पत्रकार निर्वाचन आयोगका निर्वाचन, मतदान र मतगणना अधिकृत वा कर्मचारीका रूपमा रहनु हुँदैन ।

१९. आशय बिग्रने गरी गलत मनशायले कुनै सामग्री सम्प्रेषण गर्नु अनुचित हुनेछ ।

२०. राससका सवारीलगायत कुनै पनि साधन दल र उम्मेदवारको चुनाव प्रचारका पक्षमा प्रयोग गरिनु हुँदैन तर मतदाता शिक्षा प्रसारका लागि यस्ता साधनको प्रयोगलाई अनुचित मानिने छैन ।

२१. राससकर्मीले निर्वाचनमा कुनै दल वा उम्मेदवारका पक्ष वा विपक्षमा सामाजिक सञ्जाल या न्युज मिडियाका माध्यमबाट प्रचार या विरोध गर्ने गरी कुनै पनि किसिमका सामग्री ‘पोस्ट’, ‘सेयर’ र ‘लाइक’ गर्न वा तिनमा ‘कमेन्ट’ वा ‘काउन्टर कमेन्ट’ गर्न तथा ध्वनि वा चिह्नद्वारा पनि सङ्केत गर्न पाउने छैनन् ।

एआई, इलस्ट्रेसन तथा प्रतीक चिह्नको प्रयोगमा सावधानी

२२. राससबाट समाचार सम्प्रेषणका क्रममा कुनै व्यक्तिको तस्बिरका स्थानमा एआईद्वारा निर्मित तस्बिर प्रयोग गरिने छैन । तर एआईले निर्माण गर्ने कुनै इलस्ट्रेसन, प्रतीक चिह्न, चार्ट आदि भने प्रयोग गर्न सकिने छ ।

जस्तै मतदाताहरु लाम लागेर बसेका, मतदान गरेको या मतपेटिका आदिका प्रतिकात्मक तस्बिरहरुको प्रयोग गर्न सकिने छ । यसरी प्रयोग गरेका तस्बिरमा एआईद्वारा निर्मित तस्बिर भनेर स्पष्टसँग बुझिनेगरी क्याप्सन राख्नुपर्नेछ ।

२३. यो आचारसंहिता लागू भए/नभएको अनुगमन गरिने छ । यदि राससकर्मीबाट यो उल्लङ्घन भएको पाइएमा निजलाई सचेत गराई निजको व्यक्तिगत अभिलेखमा जनिने गरी राखिनेछ ।

सम्बन्धित समाचार