नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ माघ ।


सुनको मूल्यले फेरि नयाँ कीर्तिमान बनाएको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको हो ।
आइतबार प्रतितोला रु दुई लाख ७७ हजार ८०० मा कारोबार भएको सुनको मोल आज रु चार हजार २०० ले बढेर रु दुई लाख ८२ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यता चाँदीको मूल्य पनि तोलामा रु एक सय ८५ ले बढेको छ । आज एक तोला चाँदी रु पाँच हजार ८१० मा किनबेच भइरहेको छ । आइतबार चाँदी तोलामा पाँच हजार ६२५ रुपैयाँ कायम भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार सय ७५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढाव, डलर विनिमय दर तथा भूराजनीतिक अनिश्चितताका कारण स्थानीय बजारमा पनि मूल्य प्रभावित भएको महासङ्घले जनाएको छ ।
