नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ माघ ।


सुनको मूल्यले पुन: नयाँ कीर्तिमान बनाएको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको हो । विगत तीन दिनदेखि प्रतितोला रु दुई लाख ७७ हजारभन्दा अधिक मूल्यमा किनबेच भएको पहेँलो धातु र चाँदीको मूल्य आज पनि बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८४ हजार ७०० त्यति नै चाँदीको मोल रु पाँच हजार ८८० कायम भएको छ । सोमबार प्रतितोला रु दुई लाख ८२ मा कारोबार भएको सुनको मोल आज रु दुई हजार ७०० ले बढेर रु दुई लाख ८४ हजार ७०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यता चाँदीको मूल्य पनि तोलामा रु ७० ले बढेको छ । आज एक तोला चाँदी रु पाँच हजार ८८० मा किनबेच भइरहेको छ । सोमबार चाँदी तोलामा पाँच हजार ८१० रुपैयाँ कायम भएको थियो ।
गत आइतबार एक तोला छापावाल सुन रु दुई लाख ७८ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ६२५ मा कारोबार भएको थियो । सोमबार एक तोला सुन रु दुई लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातु रु पाँच हजार ८१० मा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६९० र त्यति नै परिमाणको सेतो धातु ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आर्थिक विश्लेषकहरूका अनुसार विश्व अर्थतन्त्रमा अनिश्चितता बढ्नु, मुद्रास्फीति र भूराजनीतिक तनावका कारण सुरक्षित लगानीका रूपमा माग बढेकाले सुन र चाँदीको मूल्य बढेको हो ।
