नवकान्तिपुर संवाददाता
म्याग्दी(बेनी), १० माघ ।


आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिनुभएका पूर्वमन्त्री महावीर पुनले सडकमै पत्रकार सम्मेलन गरेर आफ्नो प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले त्रिभुज निर्वाचन चिन्ह प्रदान गरेसंगै पुनले शनिबार जिल्ला सदरमुकाम बेनीबजारको विरेन्द्रचोकमा सडकमा पत्रकार सम्मेलन गरी आफ्नो चुनावी प्रतिबद्धता घोषणा गर्नुभएको हो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८ नाङ्गी गाउँमा जन्मनुभएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहनुभएका पुन वर्तमान अन्तरिम शुसिला कार्की नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री हुनुहुन्थ्यो ।
मन्त्री पदबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएका पुनले आफू मन्त्री रहँदा नेपालको शिक्षा क्षेत्र सुधारका लागि तयार गरेका विद्येयकहरुलाई अध्यादेशको रुपमा जारी गर्न राष्ट्रपतिले सहयोग नगरेको र आफ्नो योजना विफल भएकाले त्यसलाई टुङ्गोमा पुर्याउन आफू उम्मेदवार बनेको बताउनुभयो ।
आफू शिक्षा मन्त्री हुँदा नेपालको विद्यालय शिक्षा, व्यावसायिक शिक्षा र विश्वविद्यालय शिक्षामा रहेका बेतिथि हटाउन र सुधार गर्नका लागि अध्यादेश मार्फत कार्यान्वयन गर्ने गरी तयार गरेका तीन वटा ऐन र चार वटा नियमावली अलपत्र परेकाले त्यसलाई आगामी संसदबाट कार्यान्वयन गराउन मन्त्रीबाट राजीनामा दिएर सांसदमा उम्मेदवार बनेको बताउनुभयो ।
दुई महिना लगाएर विज्ञ टोली समेतको सहयोगमा तयार गरेका ऐन र नियमावलीका मस्यौदा अघि बढ्ने स्थिति नभएको र निर्वाचन आचार संहिताको कारण पनि आगामी संसदबाट मात्रै त्यसलाई अघि बढाउन सकिने भएकाले निर्वाचनमा होमिएको पुनले बताउनुभयो । नेपालको शिक्षा क्षेत्र राजनीतिक हस्तक्षपले अस्तव्यस्त बनेकाले त्यसलाई सुधार गर्न विद्यमान कानुन र ऐनहरुलाई परिमार्जन गर्न आबश्यक रहेकाले आफुले त्यसलाई टुङ्गोमा पुर्याउने कोसिस गरेको बताउनुभयो ।
उहाँले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थालाई हटाउनुपर्ने र हरेक विश्वविद्यालयको फरक फरक शिक्षा सेवा आयोगलाई खारेज गरेर एउटै विश्वविद्यालय शिक्षा आयोग बनाउन आबश्यक रहेको समेत बताउनुभयो ।
पुनले नेपालमा प्रविधि र नवप्रवद्र्धनलाई प्राथमिकतामा राखेर उद्यमीलाई प्रोत्साहन गरी आर्थिक विकास गरेर युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने कुरा आफ्नो प्राथमिकतामा रहेको समेत बताउनुभयो । उहाँले आफुले म्याग्दी र नेपालको हितमा काम गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।
उहाँले निर्वाचनमा युवा उम्मेदवाहरुलाई मतदाता गर्न समेत आह्वान गर्नुभएको छ ।
