नवकान्तिपुर संवाददाता
भक्तपुर, १३ माघ ।


आगामी फागुन २१ गते हने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइ सोमबारदेखि सुरु भएको छ ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायतका आयोगका पदाधिकारीहरुको टोलीले सोमबार जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमी पुगेर प्रत्यक्षतर्फको मतपत्र छपाइको अनुगमन एवं निरीक्षण गर्दै सो जानकारी दिएको हो । उहाँलाई केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले मतपत्र छपाइको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।
केन्द्रमा मतपत्र छपाइको निरीक्षणपछि सञ्चारकर्मीहरुलाई यसबारे जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त भण्डारीले सोमबार प्रतिनिधिसभा सदस्य निर्वाचनका समानुपातिक तर्फको मतपत्र छपाइ सम्पन्न गरी प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “समानुपातिकतर्फको दुई करोड आठ लाख ५४ हजार ८०० प्रति मतपत्र छपाइ आज(सोमबार) सम्पन्न भएको छ । सोमबारैदेखि प्रत्यक्षतर्फको दुई करोड तीन लाख २३ हजार मतपत्र छपाइ सुरु भएको छ । आगामी १५ दिनभित्र सबै मतपत्र छपाई हुनेछ । आगामी फागुन ५ गतेभित्र सबै निर्वाचन क्षेत्रमा मतपत्र पठाइसक्ने योजना रहेको छ ।”
निर्वाचन आयोगबाट निर्वाचन क्षेत्र, निर्वाचन स्थल र केन्द्रमा पठाउने मतपत्र छिटोभन्दा छिटो विभिन्न साधनहरुबाट पठाउने काम हुन लागेको जानकारी दिँदै उहाँले मतदानअघि मतपत्रको सुरक्षाका साथै निर्वाचनको सबै तयारी करिब पूरा भएको बताउनुभयो ।
भण्डारीले एक करोड ८९ लाख तीन हजार ६८९ मतदातालाई मतदानका लागि १० हजार ९६७ मतदानस्थलअन्तर्गत २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरेको बताउँदै निर्वाचनलाई सफल बनाउन सबै संवेदनशील हुनुपर्ने बताउनुभयो । यसअघि जनक शिक्षाले १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरेर निर्वाचन आयोगलाई पठाएको थियो ।
